डडेल्धुरामा बालिकामाथि पटक-पटक बलात्कार

हिमाल प्रेस १ फागुन २०८० १६:३३ | Tuesday, February 13, 2024
डडेल्धुरामा बालिकामाथि पटक-पटक बलात्कार प्रतिकात्मक तस्बिर

डडेल्धुरा- आलिताल गाउँपालिकाकी एक १२ वर्षीया बालिका पटकपटक बलात्कृत हुनुपरेको घटना बाहिरिएको छ। उपचारका लागि अस्पताल पुगेपछि बालिका बलात्कारको सिकार भएको घट्ना खुल्न आएको हो।

उपचारका लागि अस्पताल पुगेकी बालिका आफन्त र गाउँकै एक युवाबाट बलात्कृत हुनुपरेको खुलेको प्रहरीले जनाएको छ।

बालिका आइतबार उपचारका लागि आफन्तसहित पर्शुराम नगरपालिकाको जोगबुडा अस्पताल पुगेकी थिइन्। उपचारमा संलग्न चिकित्सकले बालिकामाथि बलात्कार भएको आशङ्का गरेपछि प्रहरीलाई खबर गर्दा घटना बाहिरिएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अनुसन्धानबाट बालिका पटकपटक बलात्कारको सिकार भएको रहस्य खुलेको हो।

गत वर्ष भदौमा काका नातापर्नेबाट बलात्कृत भएकी बालिका फेरि गएको माघ ६ गते एक स्थानीय युवकबाट पनि बलात्कारमा परेको उनको बयानबाट खुल्न आएको हो। पीडित बालिकाले डर, धम्कीका कारण घटनाबारेमा कसैलाई पनि नभनेको प्रहरीको भनाइ छ। अहिले बालिकालाई आफन्तको सहयोगमा जिल्ला प्रहरी कार्यालय पुर्‍याइएको छ।

पीडित पक्षको जाहेरीका आधारमा बलात्कार गरेको आरोपमा आलितालका २० वर्षीय पुष्कर थापालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका प्रहरी वरिष्ठ नायब निरीक्षक करवीरसिंह ऐरले बताए।

बालिका वृद्ध हजुरबुवा र हजुरआमासँंग बस्दै आएकी छिन्। ती बालिकाका काका नाता पर्ने व्यक्ति भने अहिले भारतमा छन्। बलात्कारको घटना ढाकछोप गर्न उनी भारत गएको हुनसक्ने प्रहरीको आशङ्का छ। बालिकाका आमाबाबु कामका सिलसिलामा भारतमा रहेका बताइएको छ। रासस

प्रकाशित: १ फागुन २०८० १६:३३ | Tuesday, February 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast