गण्डकीमा मानवअधिकार उल्लंघन : कास्कीमा १६४, मनाङमा शून्य

हिमाल प्रेस १४ फागुन २०८० २०:५८ | Monday, February 26, 2024
गण्डकीमा मानवअधिकार उल्लंघन : कास्कीमा १६४, मनाङमा शून्य

पोखरा- गत वर्ष गण्डकी प्रदेशका ११ जिल्लामध्ये कास्कीमा सबैभन्दा बढी मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको पाइएको छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको मानवअधिकार वर्ष पुस्तक २०२४ का अनुसार सन् २०२३ मा कास्कीमा सबैभन्दा बढी १ सय ६४ जना पीडित भएका हुन्। सबैभन्दा कम मनाङमा यस प्रकारका कुनै पनि घटना भएनन्।

गएको वर्ष सन् २०२३ मा नेपालभर ९ हजार ३ सय ८८ जना मानिस मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएको इन्सेकले प्रकाशन गरेको पुस्तकमा उल्लेख छ।

सन् २०२३ मा गण्डकी प्रदेशमा अघिल्लो वर्षको तुलनामा मानवअधिकार उल्लंघन तथा ज्यादतिका घटना बढेका छन्। सन् २०२३ मा ६ सय ११ जना पीडित भएको इन्सेक गण्डकी प्रदेश प्रमुख शिवप्रसाद खकुरेलले बताए। अघिल्लो वर्ष ५ सय ४१ जना पीडित भएका थिए।

पीडितमध्ये राज्य पक्षबाट ५ जना र अन्य पक्षबाट ६ सय ६ जना गरी ६ सय ११ हुन्। राज्य पक्षबाट पीडित पाँचै जना पुरुष भएकोमा अन्य पक्षबाट ५ सय ४८ जना महिला र ६३ जना पुरुष भएको तथ्यांक छ।

खकुरेलका अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०२३ मा संख्यात्मक हिसाबले राज्य पक्षबाट भएका घटनामा कमी आएको छ भने अन्य पक्षबाट भएका घटनामा वृद्धि भएको हो। यसका आधारमा पनि यस प्रदेशमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा गत वर्षको तुलनामा बढेको उनको भनाइ छ।

कुटपिटमा ३ महिला र २२ पुरुष गरी २५ जना पीडित भएको पाइएको छ। धम्कीबाट १ महिला र ३ पुरुष पीडित भए। गण्डकीमा सन् २०२३ मा २८ जना मानिसको हत्या भएको छ। तीमध्ये १५ महिला हुन्।

महिला अधिकारसम्बन्धी विभिन्न घटनामा ४ सय १६ जना पीडित भए। बालअधिकार उल्लंघनका घटनामा १ सय १० जना बालिका र ५ जना बालक पीडित भए। साथै गण्डकी प्रदेशमा जातीय विभेदका घटनामा २ महिला र ५ पुरुष गरी ७ जना पीडित भए।

प्रकाशित: १४ फागुन २०८० २०:५८ | Monday, February 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast