काठमाडौँ- राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने दोस्रो संस्करणको केपी ओली कपको खेल तालिका सार्वजनिक भएको छ।
यही फागुन ११ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगिताका लागि मंगलबार खेलतालिका सार्वजनिक गरेको हो। प्रतियोगितामा दुई विदेशीसहित १० टिमले प्रतिस्पर्धा गर्ने छन्।
प्रतियोगितामा ७ ए डिभिजन क्लब एक आयोजक र दुई विदेशी टिम छन्। भारतको दिल्ली फुटबल क्लबले पहिलो पटक केपी ओली कप खेल्न लागेको छ।
यस्तै भारत वेष्ट बंगालको मानेभङ्ज्याङ क्लबले पनि प्रतियोगिता खेल्नेछ। यसअघि भुटानको पारो एफसी आउने भनिए पनि अन्तिम समयमा नआउने भएको आयोजकले जनाएको छ।
भारतको दिल्ली फुटबल क्लबले पहिलोपटक केपी ओली कप खेल्न लागेको छ।
ए डिभिजनहरूमा चर्च ब्वाइज, जाउलाखेल युथ क्लब, मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा केपी ओली फुटबल क्लब र चर्च ब्वाईज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो ३ बजे सुरु हुनेछ।
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेका अनुसार प्रतियोगितामा विजेताले नगद ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन भने उपविजेताले ५ लाख पाउनेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
यसैगरी सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
हरेक खेलको म्यान अफ दी म्याचले १५ हजार प्राप्त गर्नेछन्। यसका अतिरिक्त हरेक खेलको विजेता टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।


                                             
                                             
                                             
                                             
                                             
                                             

