आज स्वस्थानी व्रत समापन गरिँदै

हिमाल प्रेस १२ फागुन २०८० ७:३२ | Saturday, February 24, 2024
आज स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौँ- माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत समापन गर्ने दिन। एक महिनादेखि चलिरहेको श्रीस्वस्थानी व्रत शनिबार विधिपूर्वक समापन गरिँदैछ।

नेपाली सनातन समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमामा शुरु गरी माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। माघ शुक्ल पूर्णिमाका दिन दीप–कलश–गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकासहित श्रीस्वस्थानी देवीको विशेष पूजा–अर्चना गरिन्छ।

देवादिदेव महादेवसहित स्वस्थानीको पूजा आराधना गरी अर्घ दिई विधिपूर्वक र्नाले मनोकांक्षा पूर्ण हुने विश्वास गरिन्छ। समापनको पूजामा अक्षता, बेलीपुष्प, जनै, रोटी, पान, सुपारी र मौसमअनुसारका फलफूल एवं बत्ती १०८ को संख्यामा चढाउने विधान छ। यसरी चढाएको नैवैद्यमध्ये आठ रोटी, आठ पान, आठ सुपारी र फल श्रीमान् वा छोरा (छोरी)लाई दिई १०० रोटी व्रतालुले खाने नियम छ।

सत्ययुगमा महादेव पति पाउन देवी पार्वतीले भगवान् विष्णुको सल्लाहमा स्वास्थानी परमेश्वरीको व्रत बसेको बताइन्छ। महादेव पति पाएपछि पार्वतीले नै यो व्रतको प्रचार गर्न लगाएको व्रतकथामा उल्लेख छ।

यो पूर्णिमामा पद्मपुराणअन्तर्गतको १५३ श्लोकको ‘स्वस्थानी व्रत माहत्म्य’ पाठ गर्ने परम्परा छ। काठमाडौंको साँखुस्थित शाली नदी र भक्तपुरको हनुमानघाटमा लागेको माधवनारायण मेला पनि यही पूर्णिमा सम्पन्न हुन्छ।

माघस्नान र स्थानीय तीर्थस्थलमा लागेका मेला–पर्व पनि यही पूर्णिमामा समापन गरिन्छ।

प्रकाशित: १२ फागुन २०८० ७:३२ | Saturday, February 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast