आईसीसी विश्वकप क्रिकेट लिग–२ नामिबियाको रोमान्चक जित

हिमाल प्रेस ११ फागुन २०८० १८:२३ | Friday, February 23, 2024
आईसीसी विश्वकप क्रिकेट लिग–२ नामिबियाको रोमान्चक जित

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तरगत त्रिकोणात्मक सिरिजमा नामिबियाले आज ऐतिहासिक जित हासिल गरेको छ। आज कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेदरल्याण्ड्समाथि २४ रनको जित निकाल्दै नामिबियाले ऐतिहासिक जित हात पारेको हो।

जितका लागि नामिबियाले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४३ दशमलव ३ ओभरमा १७९ रनमै अलआउट भएर पराजित भयो।

नेदरल्याण्ड्सका नूह क्रुसले अविजित रहँदै सर्वाधिक ४६ रनको योगदान गरे। म्याक्स ओ’डोटले ४१, बास डे लिडेले २४ तथा शिराज अहमदले १९ रन जोडे पनि अन्य खेलाडीले सम्झनलायकको प्रदर्शन गर्न सकेनन्।

नेदरल्याण्ड्सलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ नामिबियाका कप्तान जेरार्ड एरास्मस र जान फ्राइलिंकले सर्वाधिक ३/३ विकेट लिए।

त्यसअघि टस जितेर नेदरल्याण्ड्सले पहिले फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङको निम्तो पाएको नामिबिया ४१ दशमलव ३ ओभरमा अलआउट हुँदै २०३ रनमा समेटिएको थियो।

हिजो भएको वर्षाका कारण पिच हिलो भएपछि ढिला गरी सुरु भएको खेललाई ४५ ओभरमा छोट्याइएको थियो। नामिबियाका लागि जन निकोलले सर्वाधिक ४९ रनको योगदान गरे। डेब्यू गरिरहेका मलान क्रुगरले ३९, ज्यान फ्राईलिंकले ३४ रन जोडे।

बलिङतर्फ नेदरल्याण्ड्सका भिभियन किङ्गमाले सर्वाधिक ३ विकेट लिए। आर्यन दत्त र रोलेफ भ्यान डेर मर्वले २/२ विकेट लिँदा शिराज अहमद र बास डे लिडेले १/१ विकेट हात पारे।

जितसँगै नामिबिया ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।  यसअघि त्रिवि क्रिकेट मैदानमा टस हार्ने टोली पराजित हुँदै आएकोमा नामिबियाले आजको खेल जितेसँगै पहिलो पटक टस हार्ने टोलीले खेल जितेको छ।

लिग–२ अन्तरगतको त्रिकोणात्मक सिरिजमा आइतवार नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: ११ फागुन २०८० १८:२३ | Friday, February 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast