काठमाडौँ- सरकारले पुनर्बीमा कम्पनीहरूको न्यूनतम चुक्तापुँजी २० अर्ब रूपैयाँ पुर्याउने भएको छ। नेपाल बीमा प्राधिकरणले यसका लागि पुनर्बीमा कम्पनीहरूलाई एक वर्षको म्याद दिएको छ। २०८१ माघ मसान्तसम्म पुनर्बीमा कम्पनीहरूले चुक्तापुँजी २० अर्ब रूपैयाँ पुर्याउने गरी निर्णय भएको प्राधिकरणले जनाएको छ।
पुनर्बीमा कम्पनीहरूले एक वर्षभित्र न्यूनतम चुक्तापुँजी २० अर्ब रूपैयाँ पुर्याउनुपर्ने गरी निर्णय भएको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक एवम् प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए। पुनर्बीमा कम्पनीहरूलाई सञ्चालक समितिबाट निर्णय गरी १५ दिनभित्र पुँजी योजना प्राधिकरणमा पेस गर्न समेत सूचना गरिएको उनको भनाइ छ।
प्राधिकरणले यसअघि गत २०७८ चैत १० गते जीवन बीमा कम्पनीका लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रूपैयाँ न्यूनतम चुक्तापुँजी तोकेको थियो।
बीमा व्यवसाय गर्ने बीमकलाई २०७९ चैत मसान्तभित्र चुक्तापुँजी वृद्धि गरेपछि प्राधिकरणले जम्मा एक वर्षको छोटो समय सीमा तोकेको थियो। अहिले पनि पुनर्बीमा कम्पनीहरूले चुक्तापुँजी २० अर्ब रूपैयाँका लागि एक वर्षको समय तोकिएको छ।
जीवन र निर्जीवन बीमकको न्यूनतम चुक्तापुँजी दोब्बर बनाउन निर्देशन दिएको दुई वर्ष नपुग्दै प्राधिकरणले स्वदेशी दुई पुनर्बीमा कम्पनीको स्वधारण क्षमता वृद्धिका लागि चुक्तापुँजी बढाउने निर्णय गरेको हो।
हाल सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीको चुक्तापुँजी १२ अर्ब ३१ करोड ८५ लाख रूपैयाँ छ। स्वदेशी बीमा कम्पनीको बढ्दो कारोबार र जोखिमको बढ्दो आकारसँगै पुनर्बीमकको वित्तीय बलियो बनाउन पूँजी वृद्धि आवश्यक रहेको प्राधिकरणका प्रवक्ता पौडेलको तर्क छ।