काठमाडौँ- सत्ता गठबन्धन दलले राष्ट्रियसभा सदस्य निर्वाचनका क्रममा कोशी प्रदेशमा भएको ‘फ्लोर क्रस’ गम्भीर र चिन्ताजनक विषय भएको जनाएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धन दल बैठकले राष्ट्रियसभा निर्वाचनको परिणामाका विषयमा प्रारम्भिक छलफल गरेको थियो। सो बैठकले कोशी प्रदेशमा भएको भोटक्रस गम्भीर चिन्ताजनक विषय भएको निष्कर्ष निकालेको हो।
बैठकपछि कांग्रेस मुख्य सचेतक रमेश लेखकले कोशी प्रदेशमा सत्तापक्षीय दलको एक सिट गुमाएको विषय र अन्य प्रदेशको नतिजाका विषयमा छलफल भएको बताए। उनले सो विषय गम्भीर र चिन्ताजनक भएको पनि बताए ।
कोशी प्रदेशको नतिजाका आधारमा गठबन्धनभित्र कुनै प्रतिकुल प्रभाव नपार्ने उनले बताए। कोशीको विषय प्रधानमन्त्री वा कांग्रेस सभापतिको मात्रै नभएर गठबन्धनका सबैको सरोकारको विषय भएको भन्दै उनले यसमा कसैलाई दोष दिन नहुने उल्लेख गरे।
राष्ट्रियसभाका अध्यक्ष चयनका विषय, राजनीतिक एजेण्डा लगाएतका विषयमा पछि छलफल हुने लेखकले बताए।