पोखरा- बाँदर धपाउने भन्दै ‘मेरो रुख, म काट्छु’ अभियानबाट पोखराका वडा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे आलोचित बनेका छन्। वडाको उक्त निर्णयकोे चौतर्फी आलोचना सुरु भएको छ।
माघ १५ गते वडा कार्यालयबाट जारी सूचनामा भनिएको छ, ‘पोखरा महानगरपालिका साविक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित भएको र हाल प्रदेश सरकारले आव २०८०/०८१ को नीति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रणसम्बन्धी नीति पास गरेको हुँदा आजको मितिले १० दिनभित्र ‘मेरो रुख, म काट्छु’ भन्ने अभियान संचालन गरी आ आफ्नो घर वरपरका सम्पूर्ण रूखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्याउनुको साथै आ आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउन वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडावासीको लागि यो सूचना प्रकाशित गरिएको छ।’
वडाको यो अनौठो अभियानमा गण्डकी सरकारले चालु आवको नीति तथा कार्यक्रमलाई हवाला दिइए पनि रुखै काट्ने योजना नरहेको योजना आयोग गण्डकीका उपाध्यक्ष कृष्ण देवकोटाले बताए।
उनका अनुसार बाँदर प्रभावित क्षेत्रमा मासु तथा दुग्धजन्य पदार्थ उत्पादन हुने गरी पशुपालनमा जोड दिने नीति मात्र भएको तर रुखै काट्ने भन्ने हैन।
लामाचौर, पुरुन्चौर पोखराको उत्तरी भेगमा पर्दछ। यहाँ बाँदरले दुःख दिएको वडावासीको पनि गुनासो छ।
यसबारेमा वडाध्यक्ष पाण्डेले बाँदरले जति धपाए पनि मानिसलाई टेर्न खोडिसकेको र घरभित्रै छिरेर अन्नबाली खाने र मानिसमाथि आक्रमण गर्न थालेपछि यस्तो अभियान थालिएको तर्क गर्छन्। तर उनले सबै रुख जरैदेखि काट्ने नभई हाँगाबिँगा काट्ने दाबी गरे। त्यसवापत ठूला रुख काटेर साना रुख रोप्ने योजना रहेको उनको भनाइ छ।
यस सम्बन्धमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्थानीय सरकार सञ्चालन ऐन बमोजिम महानगरबाट कुनै निर्णय नभएकोले सोसम्बन्धी कुनै पनि कार्य (रूख काट्ने फाड्ने) नगर्न नगराउन आग्रह गरेका छन्।
यसैबीच, गण्डकी प्रदेश सरकारले बाँदर नियन्त्रणका लागि भन्दै विगतमा मंकी पार्क सम्भाव्यता अध्ययन योजना ल्याएको थियो। १० लाख खर्चिएको उक्त योजना अलपत्र छ।