टोकियो (जापान) – विश्वमा बढ्दो द्वन्द्वलाई रोकेर शान्ति कायम गर्दै विकास कार्य अघि बढाउन ‘सशस्त्र द्वन्द्व रोकथामका लागि ग्लोबल पार्टनरसिप (जीप्याक) ले सक्रियता देखाउने भएको छ। जीप्याकले शान्ति स्थापना आजको भोलि नभई यो एउटा प्रक्रिया रहेको सन्देश पनि दिएको छ। जीप्याकमा आबद्ध विज्ञहरूले त्यही प्राक्रियाबाट अघि बढ्ने प्रतिबद्धता जनाउँदै सहकार्य गरी विश्वशान्ति कायम राख्न अपरिहार्य रहेको औँल्याएका छन्। उनीहरुले विश्वशान्तिलाई परियोजनाका रूपमा नलिई प्रक्रियाका रूपमा लिनुपर्नेमा जाेड दिए।
जीप्याक कार्यक्रमअन्तर्गतका २८ मुलुकका विज्ञहरू जापानको टोकियोमा भेला भएर द्वन्द्व घटाउनका लागि सबै उत्तिकै जिम्मेवार भएर सहकार्य गर्दै अघि बढ्ने सहमति गरेका हुन्। सोमबारदेखि शुक्रबारसम्म चलेको बैठक उत्तरपूर्वी एसियाका क्षेत्रीय सचिवालय (शान्ति डुंगा) र जीप्याकको ग्लोबल सचिवालयले आयोजना गरेको हो। कार्यक्रममा सचिवालयका संयोजकहरूलाई सहभागी गराएर कस्ता कार्यहरु त्यहाँ आवश्यक रहेको जिज्ञासा राखिएको थियो।
स्ठानीय नेतृत्वलाई जिम्मेवार बनाउँदै शान्तिका लागि नयाँ प्रक्रिया अघि बढाउन सक्नुपर्नेमा सहभागी विज्ञहरूको सुझाव छ। बैठककमा सहभागीहरू आफू सुहाउँदो कार्य भएका संस्थाहरूसँग जोडिएर काम गर्न सहमत भएका छन्।
जीप्याकका सदस्यहरूले पाँच वर्षपछि एकै स्थानमा भेला भएका हुन्। उनीहरूले शान्ति प्रक्रिया र नि:शस्त्रीकरणमा सक्रिय हुँदै यस क्षेत्रमा इँट्टा थप्न पनि सहत भएका छन्। जीप्याकले शान्ति प्रक्रिया पूरा गर्न विभिन्न आरोहअवरोह पार गरी अघि बढ्नुपर्नेमा जोड दिएको छ। मानव जातिकाे सुरक्षा नै पहिलो आधारभूत सिद्धान्तका रूपमा लिन पर्नेमा विज्ञहरूको जोड थियो।
जापानमा भएको बैठकले आणविकलगायत हतियारले द्वन्द्व अन्त्य नहुने निष्कर्ष निकालेको छ।
जीप्याकले दक्षिण एसियामा रहेको द्वन्द्व कम गर्न पहल गरेको केही महिनामा २८ मुलुकका ५० बढी विज्ञहरू जापानमा भेला भएका हुन। दि नेदरल्यान्डस्को हेगमा रहेको जीप्याकले पछिल्लो समय दक्षिण एसियामा रहेको द्वन्द्व पनि कम गराउन सक्रिय पहलकदमी लिँदै आएको छ। साथै त्यसका लागि नेपाललाई यस क्षेत्रको सचिवालयका रूपमा विकास गर्ने तयारी गरेको छ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सचिवालय पनि काठमाडौँमा भएकाले त्यस्तो निर्णय लिइएको हो। यहाँ सबै मुलकुका नागरिक भेला हुन समस्या नहुने भएकाले नेपाल यस्तो कार्यमा प्राथमिकतामा पर्ने गरेको हुन्छ। शान्तिको पहलमा काम गर्न नेपाललाई कतिपय मुलुकले उपयुक्त स्थानको संज्ञा पनि दिँदै आएका छन्। पछिल्लो समयमा सार्कमा नेपालको भूमिका निष्क्रियजस्तै भए पनि विश्वले सार्कको राजधानी काठमाडौँलाई मान्ने गरेको छ।
टोकियो बैठकमा सहभागीहरूले आआफ्नो मुलुकको अवस्था प्रस्तुत गरेका थिए। उनीहरुले आफ्नो मुलुकमा शान्ति कायम गराउन उत्तम हुने उपाय उदाहरणसहित प्रस्तुत गरेका थिए।
नेपालले लैंगिकता र जलवायुलाई जोडेर आफ्नो प्रस्तुति दिएको थियो। यस क्षेत्रमा साना हतियारको सहज पहुँचको विषय पनि उठेको थियो। यस्ता विषयले द्वन्द्व गराउने हुनाले निकायहरूलाई बढी चुस्त राख्न राजनीतिक नेतृत्वलाई घचघच्याउन आवश्यक रहेकोमा उनीहरूको जोड रहेको थियो। नेपालमा सशस्त्र द्वन्द्वपछि शान्ति कायम हुन नसकेको विषय पनि त्यहाँ परेको छ।
कतिपय साना हतियारसहित पक्राउ परेका र दोषी ठहर भएकाहरू पनि राजनीतिक संरक्षणबाट बाहिर आउन सकेको विषयमा पनि छलफल भएको छ। अहिले चलिरहेको द्वन्द्वमात्र होइन भित्रभित्र चलिरहने नियमित द्वन्द्व झन् डरलाग्दो हुने पनि उनीहरूको निष्कर्ष छ।
ठूला र बलिया मुलुकले सानालाई हेप्ने अनि आफू अनुकूल नभए हमला नै गर्ने, नाकाबन्दी गरेर असहजता गराउने काम पनि भइरहेका हुन्छन्। सहभागीहरूले यसलाई चिर्न आवश्यक रहेको बताए। विश्वलाई एकै छानोमुनिको हामी भनेर स्पष्ट पार्न सहकार्य गर्नुपर्नेमा सबै सहमत छन्। उनीहरूका अनुसार शान्ति एक प्रक्रिया हो। यो भन्नेबित्तिकै नहुने र बिस्तारै हुँदै जानेछ।
कूटनीतिक अभ्यासमा पनि यो ‘ट्रयाक टु’ मार्फतको प्रक्रिया हो। विश्वमा पुन: द्वन्द्व बढिरहँदा यसको विश्वव्यापी साझेदारी आवश्यक रहेको धारणा पनि व्यक्त भएका थिए।
टोकियो बैठक फलदायी बनाउन निकै अन्तरक्रियात्मक रहेको थियो। यस क्रममा हरेक मुलुकको अवस्थाबारे बहस र छलफल भए। जापान शान्ति प्रक्रिया र नि:शस्त्रीकरणमा राष्ट्रसंघमा नै पहिचान बनाइसकेको मुलुक हो।
बैठकमा सम्बोधन गर्दै जापानका पूर्वप्रधानमन्त्री हातोयामा युकीले जापानी र उत्तरपूर्वी एसियाली सन्दर्भबारे चर्चा गर्दै मानिस युद्धको त्रासमा रहेको बताए। उनले भने, ‘त्यसलाई कम गर्न हामीले काम गर्न आवश्यक छ। शान्तिका लागि हुने प्रयासमा जापान पनि सधैँ साथ दिन तयार छ।’
बैठकको उद्देश्य फलदायी छलफल, सहनिर्माण सत्रहरू र प्रेरणादायक व्यक्तिगत आदानप्रदान सुनिश्चित गर्नु हो। यो कोभिड पछि पहिलो भेटघाटसहितको बैठक हुनाले पनि होला सधैँ स्क्रिनमा देखिने सहभागी साथमा देखिँदा उत्साहित पनि थिए।
यस क्षेत्रबाट भने दक्षिण एसिया युवा, लैंगिक र जलवायुको मुद्दाहरुमा बढी ध्यान जानुपर्ने भन्दै पानीका विषयमा अब द्वन्द्व हुन सक्ने विषय पनि उठेको थियो। नेपालका तर्फबाट लैंगिक र जलवायु परिवर्तनको अवस्थाबारे प्रस्तुति पनि दिँदा सहभागीहरूले खुसी व्यक्त गरेका थिए।
दक्षिण एसियाका विज्ञहरूले जीप्याकको काममा कसरी अघि बढ्ने भनेर काठमाडौँमा औपचारिक बैठक गरेका थिए।
सहभागीहरूले बैठकसँगै शान्तिसँग सम्बन्धित विषयमा बहस गरेका थिए। साथै आआफ्नो मुलुकको द्वन्द्व समाधानका बारेमा पनि बताएका थिए। कार्यक्रममा पत्र तयार गरेर बहस गरिएको थियो। अहिले पनि जापानमा यस्तै र अलिक ठूलो समूहमा बैठक आयोजना गरिएको हो।
बैठकमा द्वन्द्वको जडका विषयमा बहस र छलफल भएको थियो। यस क्रममा नेपालसहित श्रीलंका र पछिल्लो समयमा भारतको विषयमा पनि बहस केन्द्रित थियो। सहभागीमध्ये अधिकांशले द्वन्द्व भन्नेबित्तिकै झगडा, मनमुटाव र मानोमालिन्यलाई बुझ्ने र द्वन्द्व हरेकको घरबाटै सुरु हुने निष्कर्ष निकालेका थिए।
जीप्याक दक्षिण एसियाका नागरिक समाज संगठनहरू र थिंक ट्यांकहरूको नेटवर्क हो। यसको उद्देश्य शान्ति, अहिंसा र क्षेत्रीय सहयोगलाई प्रवर्द्धन गर्ने हो। दक्षिण एसियाली अध्ययन केन्द्र सीसास तत्कालका लागि जीप्याक दक्षिण एसियाको अन्तरिम सचिवालय हो।
यसका लागि जीप्याकले आफ्ना सदस्य रहेको दक्षिण एसियाली थिंक ट्यांकसँग काम गर्न थालिसकेको छ। सीसासले सेप्टेम्बर १० देखि १४ सम्म काठमाडौँमा जीप्याकको दक्षिण एसियाली क्षेत्रीय सञ्चालन समूहको बैठक आयोजना गरेको थियो।