
काठमाडौँ– नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वकोे एक प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटगरी विभिन्न विषयमा छलफल गरेको छ। भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले अटोमोबाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याबारे संक्षिप्त रुपमा चर्चा गर्दै अटोमोबाइल व्यवसायलाई पुनः गतिशील बनाउन अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिनुपर्ने बताएका थिए।
अध्यक्ष चौधरीले बैकहरूबाट निजी सवारीसाधनको हायर पर्चेच लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोको हालको ५० प्रतिशतको सीमा वृद्धि गरेर ७५ प्रतिशत गरिनुपर्ने र चालु पुँजी कर्जासम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुँदाहरुलाई समेत तत्कालै संशोधन गरिनुपर्ने बताएका थिए।
यसैगरी भारतीय मालवाहक ट्रकलाई ७२ घण्टासम्म निर्बाध रूपमा नेपालमा प्रवेश गर्न दिनाले नेपालको अटोमोबाइल व्यवसायमा नकारात्मक असर पर्न गएकाले त्यसलाई व्यवस्थित गर्नका लागि पनि चौधरीले आग्रह गरेका छन्।
नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमोबाइल उद्योग समस्या र समाधानहरु बारे प्रिजेन्टेसनमार्फत विस्तृत रुपमा जानकारी गराएका थिए। छलफलमा प्रधानमन्त्री प्रचण्डले विद्युतीय सवारीसाधन, चार्जिङ स्टेसन र नेपालमा अटोमोबाइलसम्बन्धी उद्योगहरुको सम्भावनाहरुका सम्बन्धमा विशेष चासो राखेका थिए। उनले व्यवसायीले उठाएका समस्या समाधानका लागि पहल गरिने बताएको नाडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
छलफलमा नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधानको उपस्थिति थियो।