
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको प्राथामिकता २०८४ को निर्वाचन र सरकारमा बस्नुमात्र नभएको बताएका छन्।
पार्टी स्थापना दिवसको अवसरमा शुक्रबार पार्टी कार्यालय सानेपामा भएको कार्यक्रममा बोल्दै उनले निर्वाचनको जित हार कांग्रेसका लागि सामान्य पक्ष भएको बताए । उनले कांग्रेसको धर्म देशको हित गर्नु र भुइँमा बसेको मान्छेलाई माथि उठाउनु रहेको धारणा राखे ।
‘२०८४ को निर्वाचनको बारेमा सोच्छौँ जित हार सामान्य पक्ष हो । कांग्रेसको धर्म यो देशको हित गर्नु हो । भुइँमा बसेके मान्छेलाई माथि उठाउनु हो,’ थापाले भने, ‘यो धर्म निर्वाह गर्दा सरकामा बसौँला नबसौँला फरक र सामान्य कुरा हो ।’
उनले देश बिग्रियो र प्रजातन्त्रले केही दिएन भन्नेलाई आज के के भएको छ देशमा हेर्न पनि अनुरोध गरे । तर, मुख्य विषय र बाचा सुशासनको, समुन्नतिका बाचामा भने कांग्रेसको यात्रा अधुरो भएको भनाइ उनको थियो ।
‘यो विषयमा कांग्रेसको संकल्प गर्ने बेला हो । कुनै निर्वाचन जित्छ वा हार्छ भन्ने कुरा कांग्रेस पार्टीको जीवनको एउटा सामान्य पक्ष मात्र हो’ थापाले भने ।
महामन्त्री थापाले भोलिबाट कांग्रेस समुदायमा जाने पनि बताए । साथै उनले सहिद दिवसको दिन काठमाडौंमा नेताको घरमा कार्यक्रम नहुने भन्दै सबै क्रियाशील सदस्यलाई वडामा हुने कार्यक्रममा पुग्न निर्देशन पनि दिए ।