म्याग्दी- धवलागिरि गाउँपालिका-५ मलम्पारका लिएन घरब्जा छन्त्याल आफन्तसँग पोखरामा बसोबास गर्छन्। लिएनका बुबा खिमबहादुर र आमा दमायाँ रोजगारको सिलसिलामा अस्ट्रेलियामा छन्। पोखरामा घरसमेत बनाएर बसोबास गर्दै आएका छन्त्याल परिवारले खिमबहादुरका जेठा छोरा लिएनको ‘पुर्पुरो’ भने गृहगाउँ मलम्पारमै गरे।
लामो समयदेखि पोखरामा बसोबास गर्दै आए पनि आफ्नो परिवारमा जन्मिएका जेठा छोराको पुत्र बढाउ अर्थात् पुर्पुरो भने उनीहरूले पुर्ख्यौली गाउँमा गरेका हुन्। छन्त्याल समुदायमा घरमा जेठा छोरा जन्मिएको खुसियालीमा हर्ष बढाउस्वरुप पुर्पुरो गर्ने पुर्ख्यौली परम्परा र संस्कृति रहेको छ।
यस दिनमा आफन्त र मान्यजनलाई निम्ता दिएर घरमा पुर्ख्यौली नाच देखाउने गरिन्छ भने पुर्पुरो गर्ने परिवार र बालकलाई टीका लगाएर आशिष दिने चलन रहेको छ। लामो समयदेखि पोखरामा बसोबास गर्दै आए पनि आफ्नो पुर्ख्यौली गाउँठाउँमा आएर नै जेठो छोरा लिएनको पुर्पुरो गरेको उनका ठूलोबुबा कृष्ण छन्त्यालले बताए।
‘हामीले पोखरामै पनि बाबुको पुर्पुरो गर्न सक्थ्यौँ, तर हामी यही गाउँमा जन्मियौँ, हुर्कियौँ, आज जहाँ भए पनि हामीले आफ्नो संस्कारलाई गाउँमै आएर पूरा गर्नुपर्छ भन्ने मान्यताले जन्मथलोमा आएर गरेका हौँ’, उनले भने। पुर्पुरोका अवसरमा पुर्ख्यौली समूहले नाचगान गर्ने र स्थानीय आमासमूह र युवाक्लबले स्वागत र सम्मान गर्ने चलन रहेको छ।
पुर्पुरोका समयमा पुर्ख्यौली समूहमार्फत स्थानीय सामाजिक गतिविधिमा उपयोग गर्नेगरी घरपरिवारले आर्थिक सहयोग प्रदान गर्ने भएकाले गाउँकै सामाजिक सेवामा सहयोग पुगोस् भनेर आफूहरू गाउँ फर्किएर संस्कारजन्य कार्य गर्ने गरेको गरेको छन्त्याल परिवारको भनाइ छ।
लिएनको पुर्पुरोमा घरपरिवारबाट र अन्य आफन्तबाट दुई लाख चार हजार पाँच सय सहयोग जुटेको धवलागिरि गाउँपालिका–५ का वडा सदस्य र स्थानीय महेन्द्र आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त छन्त्यालले जानकारी दिए।
उनले उक्त सहयोग रकमलाई विद्यालयको निजी स्रोतका शिक्षकको तलब सुविधामा खर्च हुने जानकारी दिए। विकट बस्ती भएकाले अवसर, रोजगार र सुविधाका लागि हरेक वर्ष गाउँ छाडेर अन्यत्र जानेक्रम बढेपछि संस्कारजन्य कार्यमा भने पुर्ख्यौली थलोमै फर्कने परम्परा बनेको छ। रासस