जावलाखेल युथ क्लब आहा राराको क्वाटरफाइनलमा

हिमाल प्रेस ११ माघ २०८० १६:५०
8
SHARES
जावलाखेल युथ क्लब आहा राराको क्वाटरफाइनलमा

पोखरा- जावलाखेल युथ क्लब २३ औं आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ। पोखरा रंगशालामा बिहीबार तेस्रो प्रिक्वाटरफाइनलमा मच्छिन्द्र फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै विजयी यात्रा सुरुआत गरेको हो।

खेलको ३८ औं मिनेटमा हिसुब थपलियाको गोलमा जावलाखेलले अग्रता लिएको थियो। विपक्षी गोलकिपर विशाल श्रेष्ठ अगाडि बढेको अवस्थामा उनलाई बिट गर्दै हिसुबले खाली पोस्टमा बललाई दिशा दिएका हुन्।

उक्त गोल नै अन्ततः निर्णायक सावित भयो। अन्तिम मिनेटसम्म मछिन्द्रको खेलमा फर्किने प्रयास खेर गयो। खेल अवधिधर दुवै पक्षले केही राम्रा अवसर खेर फालेका थिए। खेलको ४८ औं मिनेटमा मच्छिन्द्रका बिमल घर्तीमगरको फ्रिकिक क्रसबारमा लागेर फर्किंदा बराबरी ल्याउने प्रयास खेर गएको थियो।

अघिल्लो दिन बुधबार पनि त्रिभुवन आर्मी फुटबल क्लबका लागि कप्तान भरत खवासको १ मात्र गोल निर्णायक बनेको थियो। २०६८ सालमा पहिलो सहभागितामै फाइनल खेलेको जावलाखेल मनाङ मस्र्याङ्दी क्लबसँग पराजित भएको थियो। उपाधि दाउमा रहेको जावलाखेलको निम्ति क्वाटरफाइनलमा मनाङ नै विपक्षी छ। मनाङ आराराको ६ पटकसम्मको विजेता हो।

पराजित मच्छिन्द्र गत वर्ष झैं पहिलो चरणबाट घर फर्किन बाध्य भयो। २२ औं संस्करणको दोस्रो क्वाटरफाइनलमा चर्च ब्वाइजसँग मच्छिन्द्र फुटबल क्लब ३–१ गोलअन्तरले पराजित भएको थियो। शुक्रबार अन्तिम प्रिक्वाटरफाइनलमा विभागीय नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब आमनेसामने हुने छन्।

यसअघि उद्घाटन खेल जित्दै थ्रि स्टार क्लब अन्तिम ८ मा प्रवेश गरिसकेको छ। पाँचौं पकटसम्मको विजेता थ्रि स्टारले आयोजकलाई २–१ गोलअन्तरले पराजित गरेको हो। दोस्रा प्रिक्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लबले राइजिङ स्टार क्लब, नवलपुरलाई १–० ले हराउँदै क्वाटरफाइनल स्थान सुरक्षित गरिसकेको छ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ हो। प्रतियोगितामा १ करोड ८६ लाख ७५ हजार रुपैयाँ आम्दानी हुँदा १ करोड ४९ लाख ३ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ। बचत रकम सहारा एकेडेमीमा खर्च गरिने छ।

पोखराको दोबिल्लामा संचालित एकेडेमीमा हाल चौथो व्याचमा ८ जिल्लाका १४ जना बालक आश्रित छन्। प्रतियोगितामा १२ टिमले भाग लिएका छन्। फाइनल २० माघमा हुनेछ।

प्रकाशित: ११ माघ २०८० १६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast