राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान जारी

हिमाल प्रेस ११ माघ २०८० १०:५२
6
SHARES
राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान जारी

पोखरा- राष्ट्रियसभा सदस्यको चुनाव गण्डकी प्रदेशअन्तर्गत पोखरामा मतदान जारी छ। बिहान ९ बजेदेखि पोखरा राष्ट्र बैंक चोकस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान सुरु भएको हो।

प्रदेशसभा तर्फ एमाले सांसद भीम कार्की र पालिकातर्फ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पहिलो मतदान गरे। जारी मतदानमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि मतदान गरिसकेका छन्।

मतदानका लागि मतदाता पंक्तिबद्ध छन्। दिउँसो ३ बजेसम्म मतदान समय तोकिएकोमा बिहान १० बजेसम्म प्रदेशसभातर्फ २५ जना र पालिकातर्फ ६० जना मतदाताले मतदान गरिसकेको निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए।

गण्डकी प्रदेशमा निर्वाचनका लागि अन्तिम तयारीमा रहेको मुख्य निर्वाचन अधिकृतको मतदानका लागि २ वटा मतदान केन्द्र तोकिएको छ। तीमध्ये एउटा केन्द्रमा ९ जना खटिएका छन् । जसमा निर्वाचन अधिकृत १, मतदान अधिकृत १, सहायक मतदान अधिकृत १, कर्मचारी ४, सहयोगी २ जना छन्। मत परिणाम साँझ ६ बजेसम्म आइसक्ने मुख्य निर्वाचन अधिकृत ऋषिराम आचार्यले बताए।

गण्डकीमा ३ सिटका लागि ४ दलबाट ८ जना प्रतिस्पर्धामा छन्। देशभर १९ सिटका लागि जारी मतदानमा गण्डकी प्रदेशमा ३ सिट (महिला, अपांग र अन्य) खाली हुनेछ। गठबन्धनबाट अन्य क्लस्टरमा गोरखाका किरणबाबु श्रेष्ठ, अपांगता र अल्पसंख्यकमा तनहुँका पदमबहादुर परियार र महिलामा पर्वतकी मनरुपा शर्मा उम्मेदवार हुन्। तीमध्ये श्रेष्ठ र परियार कांग्रेसका हुन् भने शर्मा माओवादी नेतृ हुन्।

एमालेबाट अन्य क्लष्टरतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, अपांगता र अल्पसंख्यकबाट मुस्ताङका हेमन्द्र शेरचन र महिलातर्फ गोरखाकी सम्झना देवकोटा उम्मेदवार छन् ।
राप्रपाबाट रोमबहादुर भण्डारीले अन्यतर्फ र तनहुँकी गौमाया श्रेष्ठले महिला क्लष्टरबाट उम्मेदवार छन्।
गण्डकीबाट कुल २ सय ३० जना मतदाता छन्। तीमध्ये ६० सदस्यीय प्रदेशसभा (सदस्य)बाट ६० र ८५ पालिकाका (प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्ष) गरी १ सय ७० जना मतदाता हुन्।

गण्डकीमा १ महानगरपालिका (पोखरा)सहित २६ नगरपालिका र ५८ गाउँपालिका छन्। निर्वाचन आयोगले प्रदेश सभाको सांसदको मतभार ५३ र पालिकातर्फ मतभार १९ तोकेको छ। यसरी गण्डकीमा दुवै तहका गरी जनप्रतिनिधिको कुल मतभार ६ हजार ४ सय १० हुन आउँछ।
कांग्रेसको प्रदेश सभातर्फ २७ र पालिकातर्फ ६७ जना मतदाता गरी कुल मतभार २ हजार ७ सय ४ मतभार हुन आउँछ।

सत्तारुढ दल माओवादी केन्द्रको संसदमा ८ सिट र पालिकातर्फ ३० गरी कुल मतभार ९ सय ९४ छ भने राष्ट्रिय जनमोर्चाको पालिकातर्फका गरी ५७ मतभार छ। उसको संसद्‌मा उपस्थिति छैन। एकीकृत समाजवादीको संसदमा १ र पालिकामा १ गरी उसको मतभार ७२ मात्र छ।
यस्तै, एमालेको प्रदेशसभामा २२ सिटको प्रतिनिधित्व छ। उसको मतभार यहाँ १ हजार १ सय ६६ र पालिकातर्फ ६८ को मतभार १ हजार २ सय ९२ गरी कुल मतभार २ हजार ४ सय ५८ हुन आउँछ । तर, एमालेबाट ढोरपाटनको मेयर जितेका देवकुमार नेपाली सहकारी ठगीकाण्डका कारण बेपत्ता छन्।

उनको अनुपस्थिति भए एमालेको मतभार घटेर २ हजार ४ सय ३९ मात्र हुनेछ । प्रदेश सभामा २ सिट जितेको राप्रपाको १ सय ६ मतभार कायम छ। गठबन्धनको कुल मतभार ३ हजार ८ सय २७ हुनेछ भने निकटतम् प्रतिस्पर्धी दल एमालेको २ हजार ४ सय ३९ मतभार छ।

मनाङको निस्याङ गाउँपालिका उपाध्यक्ष जितेका छिरिङ गुरुङ स्वतन्त्र हुन्।
गण्डकीबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका नेकपा एमालेका गणेशप्रसाद तिमिल्सिना, एमालेकै दीपा गुरुङ र नेपाली कांग्रेसका प्रकाश पन्थको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ।

बागमती प्रदेश 
बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त चार सदस्य पदको लागि मतदान जारी रहेको छ।
स्थानीय भुटनदेवी माविको भवनको (क) मतदान केन्द्रमा प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोरसाईले पहिलो मतदान गरेका थिए।
उक्त भवनमा मतदान केन्द्र (क) मा प्रदेशसभाको लागि र (ख) मा स्थानीय तहका प्रमुख, उपप्रमुखको लागि मतदानस्थलको प्रबन्ध मिलाइएको बागमती प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख ताराप्रसाद आचार्यले जानकारी दिए।
उक्त मतदान कार्यको लागि प्रदेशसभाको एक सय १० जना र स्थानीय तहका दुई सय ३७ जना गरी कूल तीन सय ४७ जनाले मतदानमा सहभागी हुने उनले जानकारी दिए। आजै अपराह्न ३ बजेको समयभित्र मतदान कार्य सम्पन्न भएलगत्तै दलका उम्मेदवारको सहमतिअनुसार अपराह्नबाट मतगणना कार्यको लागि आवश्यक तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए।
सो निर्वाचनको लागि सत्ता गठबन्धन, नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीको तर्फबाट १५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।
दुवै मतदान केन्द्रमा सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोलीले सुरक्षा प्रदान गरिरहेको र मतदाता प्रवेश गर्ने पश्चिम ढोका र मतदान कार्य सम्पन्न गरिसकेपछि उत्तरतर्फको मूल ढोकाबाट आवतजावत गर्ने सुविधा मिलाइएको मकवानपुरका प्रजिअ सुर्यप्रसाद  सेढाईंले जानकारी दिए।
लुम्बिनी प्रदेश 
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान जारी रहेको छ।
घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्रांगणमा रहेको मतदान केन्द्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पहिलो मतदान गरि मतदानको सुरुआत भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए।
मतदानका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ। मतदानका लागि दुई मतदान केन्द्र तोकिएको छ।
निर्वाचन अधिकृत पाण्डेका अनुसार  ‘क’ मतदान केन्द्रमा ८७ जना प्रदेशसभा सदस्यले मतदान गर्ने  व्यबस्था गरिएको छ  भने ‘ख’ मतदान केन्द्रमा नगरपालिकाका प्रमुख उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षगरि २ सय १८ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए।
लुम्बिनी प्रदेशमा अन्य र महिला गरी दुई सदस्यका लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ। सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले अन्यतर्फ रोल्पाका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसले महिलामा गुल्मीकी विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाएको छ।
यस्तै नेकपा एमालेले अन्य क्लस्टरतर्फ पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्री र महिलातर्फ दाङकी तुलसाकुमारी केसीलाई उम्मेदवार बनाएको छ। जनमत पार्टीको तर्फबाट अन्यमा नवलपरासीका बालगोविन्द चौधरीको उम्मेदवारी दर्ता भएको छ। राप्रपाको तर्फबाट महिलामा कपिलवस्तुकी विजयालक्ष्मी सिंहलाई उम्मेदवारी दर्ता भएको छ।
राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ। लुम्बिनी प्रदेशमा कूल मतदाता संख्या तीन सय पाँच जना रहेको छ। यसमध्ये प्रदेशसभा सदस्यको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको सङ्ख्या दुई सय १८ रहेको छ।
कोशी प्रदेश 
कोशी प्रदेशमा राष्ट्रियसभाका दुई सदस्य निर्वाचनको मतदान जारी रहेको छ। प्रदेश निर्वाचन कार्यालय विराटनगर–१० मा प्रदेशसभा सदस्य एवं पालिकाका प्रमुख एवं उपप्रमुखले मतदान  भाग लिइरहनुभएको छ । विराटनगरका मौसम चिसो भए पनि प्रदेशसभा सदस्य एवं प्रमुख एवं उपप्रमुखलाई लामबद्ध भएर मतदान गरिरहेका छन्।
मतदान कार्य भइरहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख यामप्रसाद सुवेदीले जानकारी दिए।
प्रदेशमा एक महिला र एक अन्य पद गरी दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ।  महिला पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी चम्पा कार्की र नेकपा एमालेबाट रुक्मिणी कोइराला, अन्यमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेबाट पर्शुराम अधिकारी र राप्रपाबाट उद्धव पौडेलको उम्मेदवारी परेको छ।
प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि अलगअलग मतदान केन्द्र निर्धारण गरिएको छ।
निर्वाचनमा प्रदेश सभाका ९३ र स्थानीय तहका प्रमुख–उपप्रमुख दुई सय ७४ गरी तीन सय ६७ जना मतदाता छन्। प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतदभार १९  छ। राससको सहयोगमा

 

प्रकाशित: ११ माघ २०८० १०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast