ओली र नेपालको दम्भ घटाउने प्रयासमा एमाले नेताहरू

रमेश भारती ७ माघ २०८० १६:३३
56
SHARES
ओली र नेपालको दम्भ घटाउने प्रयासमा एमाले नेताहरू

काठमाडौँ- नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच एकीकरणमा अध्यक्षद्वय केपी शर्मा ओली र माधवकुमार नेपाल अझै सकारात्मक देखिएका छैनन्। दुवै अध्यक्षको अहंकारका कारण संसद्‌मा पहिलो दल बन्ने प्रयास सार्थक हुन नसकेको पार्टी एकताका लागि आन्तरिक छलफलमा जुटेका नेताहरूले बताएका हुन्।

एमाले उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव गोकर्ण बिष्टले एसका नेताहरूसँग एकीकरणका लागि छलफल गरिरहेको एक नेताले जानकारी दिए। निरन्तर संवाद अघि बढाएपछि एमालेसँगको एकीकरण, समायोजन वा सहकार्यका विषयमा एसका अध्यक्ष नेपाल सकारात्मक देखिएको ती नेता बताउँछन्। उनी भन्छन्, ‘अध्यक्ष नेपाल एमालेसँग सम्मानजनक एकीकरणको पक्षमा हुनुहुन्छ। तर उहाँ एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा छलफलका लागि आफूलाई बोलाउनुपर्छ भन्नेमा हुनुहुन्छ।’

पौडेललगायतका एमाले नेताहरू अध्यक्ष ओली र नेकपा एसका अध्यक्ष नेपाललाई भेटवार्ता गराउन प्रयासमा छन्। तर दुवै अध्यक्ष तत्काल भेट्ने मनस्थितिमा नरहेको ती नेताले बताए।

नेकपा एसका केही नेताहरू अस्तित्वरक्षाका लागि पनि एमालेमा फर्किन तयार देखिएको छलफलमा सहभागी नेताहरू बताउँछन्। ओली-नेपाल एकै ठाउँमा बसेर कुराकानी गरेपछि मात्रै पार्टी एकताका हुने अवस्था देखिएको ती नेताको बुझाइ छ।

‘ओली नेपाल नै भेट्न आऊन् भन्ने पक्षमा हुनुहुन्छ भने नेपाल पनि ओलीले नै भेट्ने वातावरण बनाएर बोलाए हुन्थ्यो भन्ने पक्षमा हुनुहुन्छ। मुख्य समस्या यही हो। एक वर्षअघिसम्म एकअर्काको नाम सुन्न र मुख हेर्ने  नचाहने ओली-नेपाल सामान्य अवस्थामा फर्किन तयार देखिनु सकारात्मक हो,’ उनले भने।

ती नेताका अनुसार पार्टी एकताका विषयमा छलफलमा बस्नुअघि ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेको गल्ती स्वीकानुपर्ने अडानमा नेपाल छन् भने ओली नेपालले मेरा कारण एमालेलाई ठूलो क्षति पुगेको गल्ती स्वीकारे मात्र छलफलमा बस्ने पक्षमा छन्।

एमाले सचिव बिष्ट दुई कम्युनिस्ट पार्टीबीच छलफल हुनु सकारात्मक भए पनि एकताका लागि त्यस्तो कुनै पहल नभएको दाबी गर्छन्। उनी भन्छन्, ‘दुवै नेताहरू एकै ठाउँमा रहनुपर्छ भनेर हामीले पहिलादेखि नै भन्दै आएका छौँ। तर अहिले एकताका विषयमा त्यसरी कुराकानी भएको छैन।’

एमाले उपमहासचिव प्रदीप ज्ञवाली पछिल्लो राजनीतिक विषयमा एमाले र एसका नेताहरूबीच कहिलेकाहीँ आन्तरिक रूपमा छलफल हुनु स्वाभाविक रहेको बताउँछन्। उनी भन्छन्, ‘यसरी भएको भेट र छलफलमा पार्टी एकीकरणको बहस हुनु स्वाभाविक हो।’

नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले एमालेसँग पार्टी एकीकरण गर्ने विषयमा विषयमा आफू जानकार नभएको बताए। तत्काल एमालेसँग पार्टी एकीकरण हुने अवस्था नभएको उनले प्रस्ट पारे। नेकपा एसका नेताहरूका अनुसार एमालेका नेताहरूले अध्यक्ष नेपाल र नेता घनश्याम भुसालसँग छलफल जारी राखेका छन्।

एमाले नेताहरूले आमजनता पार्टीका प्रभु साह र स्वतन्त्र सांसद योगी मण्डललाई पनि पार्टीमा भित्र्याउन पहल गरिरहेका छन्। आगामी वैशाखभित्र एस र योगीसँग एकीकरण गरी पहिलो पार्टी बन्ने रणनीति रहेको एमालेका एक शीर्ष नेताले जानकारी दिए। जसपालाई मोरङ ५ छाडेपछि स्वतन्त्र उठेर जितेका मण्डल पार्टीमा फर्काउन सकेमा पहिलो पार्टी बन्ने विश्वासमा एमाले नेताहरूको छ। एमाले कोशीका एक नेताका अनुसार मण्डल पार्टी एकता भए एमालेमा फर्किन तयार भएको बताइरहेका छन्।

साह र योगीले एकीकरणका विषयमा केही बालेका छैनन्। साहले आफू कतै र कोहीसँग एकीकरण गर्ने पक्षमा नरहेको बताए।

संघीय संसद्‌मा एमालेको ७८ सिट छ। नेकपा एसको १० सिट थपिँदा कांग्रेस बराबर ८८ सिट हुनेछ। साह र मण्डल पनि थपिए ९० सिट बनाउने दाउमा एमालेका नेताहरू छन्।

एमालेका उपाध्यक्ष पौडेल र उपमहासचिव गुरुङले पार्टी एकीकरण मात्र होइन, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि पार्टी राजनीतिमा ल्याउन पहल गरिरहेको एमालेका एक नेताले बताए। उनीहरूले पार्टी एकीकरण र भण्डारीलाई राजनीतिमा ल्याउने चर्चा गरेर एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेललगायतका नेताहरूसामु आफ्नो शक्ति देखाउन लागिपरेको एमालेका केही नेताहरूको टिप्पणी छ।

प्रकाशित: ७ माघ २०८० १६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 5 =