 
                             
                                            काठमाडौँ– बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘झोडा’ मञ्चन हुने भएको छ। सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गर्दै फागुन ११ गतेदेखि नाटक मञ्चन हुन लागेको थिएटरले जनाएको छ।
गणेश रसिकको उपन्यास ‘आकाशगंगाको ओतमुनि’ मा आधारित नाटकको परिकल्पना र निर्देशन चेतन आङथुपोले गरेका छन्।
चुलाचुली रंगमञ्चको प्रस्तुति रहेकाे नाटक फागुन २२ गतेसम्म मञ्चन हुनेछ। नाटकको नाट्य रूपान्तरण सुमन लिङदेनले गरेका छन्। नाटकका निर्माता सुरेश माङ्पाहाङ राई हुन्।
नाटकमा तराईमा झोडा फाँडेर बस्ने आदिवासी समुदायको कथा समेटिएको निर्देशक चेतन आङथुपोले बताए। ‘२०२८ सालदेखि २०३२ सालसम्मको झोडाको संक्रमणकालीन समयलाई नाटकमा प्रस्तुत गर्न खोजेका छौँ।’ उनले भने।
नाटकघरको बाहुल्यता रहेको काठमाडौँ उपत्यकामा यो नाटक मञ्चन गर्न लागेको निर्देशक चेतन आङथुपोले बताए। उनका अनुसार यसअघि नाटक असोज २३ गतेदेखि कात्तिक ४ गतेसम्म दमकस्थित किराँत भवनमा मञ्चन गरिएको थियो।
नाटकमा मन कुमार योङ्गहाङ, रमिला राई (रमिता), उदय वेघा, बेन्वो सन्तोष, मनिस मगर (प्रविन), बविना राई, मिना नेम्बाङ, विपिसा राई, मनिक शंकर, युगल लिम्बू, दीपक खरेल, प्रविन भण्डारी, चेतना आचार्य र प्रिन्स तामाङको अभिनय रहनेछ।
नाटकमा प्रयोग भएको गीत सुन्दर कुरुप र ताया राईले लेखेका छन्। गीतमा ताया राई, स्वस्तिका लिम्बू र आशा सावाको स्वर छ।
गीतमा बालकृष्ण राईले संगीत भरेका छन्। भने बासुरीमा एमपी मगर, मादलमा दिनेश विश्वकर्मा र गितारमा दिपेश मगर छन्। निर्माण टिमका अनुसार नाटकबाट उठेको रकम चुलाचुली रंगमञ्च निर्माणको लागि प्रयोग गरिनेछ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 