पोखराको दिगो पर्यटन परियोजनाका लागि साढे ४ अर्ब बराबरको सम्झौता

हिमाल प्रेस ३ माघ २०८० १९:५१
12
SHARES
पोखराको दिगो पर्यटन परियोजनाका लागि साढे ४ अर्ब बराबरको सम्झौता

पोखरा- नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच १ सय ६० मिलियन डलर सहुलियत ऋण र ६ मिलियन डलर बराबरको अनुदान सम्झौतामा हस्ताक्षर भएको छ।

अर्थ मन्त्रालयमा भएको सम्झौतामा अर्थ सचिव डा. कृष्णहरि पुष्कर र एसियाली विकास बैंक नेपाल कार्यालयका निर्देशक अर्नाउड कौकोइसिसले हस्ताक्षर गरेका हुन्। जसमध्ये दिगो पर्यटन विकास तथा जीवन सुधारसँग सम्बन्धित परियोजनाका लागि पोखरा महानगरसँग साढे ४ अर्ब बराबरको सम्झौता भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए।

सहरी विकास मन्त्रालयमा भएको दिगो पर्यटन विकासका परियोजनासँग सम्बन्धित सम्झौतामा परियोजना प्रमुख रोशनकुमार श्रेष्ठ र पोखरा महानगरपालिकातर्फबाट प्रमुख आचार्य र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले हस्ताक्षर गरेका हुन्।

परियोजनाअन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्म फास्ट ट्रयाक निर्माण, पञ्चासे क्षेत्र विकास परियोजना, ७ ताल जोड्ने साइकल ट्रेल, बोटानिकल गार्डेन, लेखनाथ क्षेत्रमा विपद् व्यवस्थापन युनिट स्थापना तथा सञ्चालन, फिर्के कोरिडोर निर्माण लगायतका पर्यटन क्षेत्रसँग सम्बन्धित परियोजना रहेका छन्।

परियोजनाले पोखराको समग्र विकासमा महत्त्वपूर्ण टेवा पुग्ने प्रमुख आचार्यले विश्वास व्यक्त गरे। ‘हामी पोखरालाई छिट्टै पर्यटनको राजधानी सहर घोषणा गर्न गइरहेका छौं। यसका सन्दर्भमा संघ सरकारसँगको विभिन्न निकायसँग महानगरपालिकाको तर्फबाट छलफल र संवाद गरिरहेका छौं,’ उनले भने, ‘यो सम्झौता समग्र पोखराको विकास र पर्यटकीय राजधानी घोषणाका लागि कोशेढुंगा सावित हुनेछ।’ सम्झौताको कार्यान्वयनका लागि महानगरपालिकाको तर्फबाट सबै प्रकारको सहयोग तथा सहजीकरण गरिने उनले प्रतिबद्धता जनाए।

महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले महानगरतर्फबाट परियोजना कार्यान्वयनका लागि छुट्टै प्रोजेक्ट अफिस स्थापना गरी आवश्यक कर्मचारी व्यवस्थापन गरिएको बताए। परियोजना सञ्चालनमा नगर विकास कोष साझेदारका रूपमा रहने छ।

प्रकाशित: ३ माघ २०८० १९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − one =