काठमाडौँ- नेपाली भाषासाहित्यका विद्वान् एवम् वरिष्ठ समालोचक प्रा.डा. ताराकान्त पाण्डेयको शुक्रबार राति दाङको भालुवाङमा सडक दुर्घटनामा परी निधन भएको छ।
नेपालगन्जबाट काठमाडौँका लागि छुटेको भे१ख ३९१२ नम्बरको रात्रिबस शुक्रबार राति करिब १० बजे राप्ती नदीमा खस्दा पाण्डेयसहित कम्तीमा १२ जनाको निधन भएको हो।
पाण्डेयको निधनले उच्च शिक्षामा नेपाली भाषासाहित्य अध्ययन गरेका विद्यार्थीले प्रखर गुरुमात्र गुमाएका छैनन्, सरल, शालीन र अध्ययनशील व्यक्तित्वको पहिचान बनाएका एकजना विद्वान्को अवसान भएको छ। पाण्डेय धेरैका पठन, लेखन र राजनीतिका गुरु थिए। वामपन्थी विचार राख्नेहरूका आदर्श पात्र थिए उनी। उनी मार्क्सवादी सौन्दर्यचिन्तनका गहन अध्येता हुन्।
६५ वर्षीय पाण्डेय त्रिवि नेपाली केन्द्रीय विभागबाट दुई वर्षअघि अवकाश भएका थिए। प्राध्यापन पेसाबाट अवकाश भए पनि शोधनिर्देशन, भाषासाहित्य र दर्शनबारे उनको व्याख्यान लोभलाग्दो थियो। पाण्डेयले एमए, एमफिल र पीएचडीमा गरी सयौँ विद्यार्थीको शोधनिर्देशन गरेका छन्।
कविता, समालोचना र दर्शनमा धाराप्रवाह रूपमा व्याख्यान दिन सक्ने पाण्डेय आफ्नो पुस्ताका एक उम्दा समालोचक रहेको बताउँछन् उनका विद्यार्थीकालदेखिका सहकर्मी प्रा. कोषराज न्यौपाने। पाण्डेय जति विद्वान् थिए, उति नै सरल र उदार थिए। अनुज पुस्तालाई स्नेह गर्ने उनी सधैँ नयाँ कार्यका लागि प्रेरित गर्दथे। त्यसैले त अग्रणी विद्वान् पाण्डेयलाई ‘गुरुहरूका पनि गुरु’ मान्ने धेरै छन्।
तीस वर्षदेखि संगत गर्दै आएका प्रा. न्यौपाने भन्छन्, ‘पाण्डेय गम्भीर अध्येता मात्रै नभई द्रष्टा व्यक्तित्व हुन्। आफ्नो युगको समालोचकहरूमा उनको नाम अग्रपंक्तिमा आउँछ।’ त्रिचन्द्र कलेजमा लामो समय पाण्डेयसँगै प्राध्यापन गराएका प्रा. न्यौपानेले पाण्डेयको निधनबाट त्रिचन्द्र कलेजले ठूलो प्रतिभा गुमाएको बताए। न्यौपानेले भने, ‘पाण्डेयको उपकारी व्यक्तित्वलाई धेरैले सम्झना गरिरहनेछन्। आज त त्रिचन्द्रको मुटुको अस्त भएको दिन हो।’
२०५३ सालदेखि त्रिचन्द्र कलेज हुँदै २०७८ सालसम्म नेपाली केन्द्रीय विभागमा सँगै काम गरेका डा. दुर्गाबहादुर घर्तीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘२०५३ सालदेखि त्रिचन्द्र कलेज हुँदै नेपाली केन्द्रीय विभागसम्म मैले उहाँसँग काम गर्ने मौका पाएँ। उहाँ सरल, सहयोगी र विद्वान् व्यक्ति हुनुहुन्थ्यो। उहाँको निधनको खबरले सारै दु:खी तुल्याएको छ।’
सिकाइ गतिविधिमा सहभागी हुँदा सधैँ शालीन रूपमा प्रस्तुत हुने पाण्डेय विषयवस्तुलाई केस्राकेस्रा केलाएर अध्यापन गराउँथे। एमफिलमा पाण्डेयसँगै अध्ययन गरी उनकै शोधनिर्देशनमा विद्यावारिधि गरिरहेका गोकुल पोखरेल भन्छन्, ‘पाण्डेय मार्क्सवादी विचारक, नेपाली साहित्यका अग्लो धरोहर र उँचो व्यक्ति हुन्। रौँचिरा वर्णन गर्न सक्ने र सिद्धान्तलाई पचाएर त्यसको सामयिक अनुकूलन गरी व्याख्या गर्न सक्ने उनको क्षमता कमैमा मात्र पाइन्छ।’
यसैगरी समालोचक एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव प्रा.डा. जगत उपाध्याय ‘प्रेक्षित’ले पाण्डेयको निधनबाट नेपाली साहित्यले एकजना मेधावी र आधिकारिक समालोचक गुमाएको उल्लेख गरेका छन्। उपाध्यायले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँ आफ्ना अमर कृतिहरूका माध्यमबाट हाम्रा बिचमा सधैँ रहिरहनुहुनेछ।’
पाण्डेयसँगै त्रिवि नेपाली केन्द्रीय विभागमा १५ वर्ष सहकार्य गरेका दीपकप्रसाद ढकालले पाण्डेय नेपाली सिर्जना र समालोचना क्षेत्रमा सधैँ स्मरणीय रहने बताए। ढकालले भने, ‘वामपन्थी विचारधारालाई संस्थागत स्वरूप दिने र त्यसका नवीनतम् संकथनहरू निर्माण गर्ने सन्दर्भमा पाण्डेय एकजना अग्रणी व्यक्तित्व हुनुहुन्थ्यो।’ पाण्डेयको कलम सिर्जना र समालोचना दुवैमा चलेको छ। उनका ती सामग्री वामपन्थी कोणबाट लेखिएका छन्।
पाण्डेय त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका पूर्वडिन थिए। इच्छुक प्रतिष्ठानका अध्यक्ष उनी पछिल्लो समय मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय स्कुल विभागका सदस्य एवं सल्लाहकार थिए। पुस २२ गते काठमाडौँबाट कैलालीको टीकापुर गएका पाण्डेय पार्टीले आयोजना गरेको प्रशिक्षण सकेर फर्कँदै गर्दा उनी चढेको बस दुर्घटनामा परेको हो।
उनका कला साहित्य : भूमिका र मूल्यांकन, प्रगतिवाद र कविता, देवकोटाको व्यङ्ग्य कवित्व, अर्थभ्रान्तिको उत्तर चेतनाविरुद्ध, अर्थको आनन्द, समय र सिर्जना लगायतका कृति प्रकाशित छन्। पाण्डेयका पत्नी र छोरी छन्।
पाण्डेयले प्रगतिशील लेखक संघ, नेपालको केन्द्रीय सदस्य तथा कोषाध्यक्ष भएर काम गरेका थिए। ‘मार्क्सवादी चिन्तन र समालोचनाका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएको थियो। उहाँको असामयिक निधनले अपूरणीय क्षति भएको छ’, प्रगतिशील लेखक संघ, नेपालले पाण्डेयको निधनपछि जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ।