छन्द वैदिक कालदेखि नै प्रयुक्त हुँदै आएको काव्यिक अनुशासन हो। यसलाई वेदका छ अंगमध्ये एक मानिन्छ। पौरस्त्य वाङ्मयमा शिक्षा, कल्प, निरुक्त, व्याकरण र ज्योतिषजस्तै छन्दशास्त्रको विशेष महत्त्व रहिआएको छ।
छन्दलाई वेदको चरण पनि मानिएको छ। चरण नभएको मानिस हिँड्न नसकेजस्तै छन्दरहित रचना गतिशील हुन नसक्ने प्राचीन आचार्यहरूको मान्यता थियो। छन्दको प्रयोग सर्वप्राचीन ग्रन्थ वेददेखि हुँदै आएको छ। गायत्री, उष्णिक्, अनुष्टुप, बृहती, पङ्क्ति, त्रिष्टुप, जगती वैदिककालीन छन्द हुन्। जसरी छन्दको प्रयोग वेददेखि नै प्रयोग हुँदै आयो। छन्दशास्त्रका बारेमा पनि प्राचीनकालदेखि चर्चा हुँदै आएको छ।
छन्दशास्त्रको चर्चा ब्राह्मण ग्रन्थदेखि हुन थालेको पाइन्छ। छन्दशास्त्रको औपचारिक र आधिकारिक ग्रन्थ भने पिंगलको ‘छन्द सूत्र’ हो । यसमा पिंगलले ३२९ सूत्रमार्फत विस्तृत व्याख्या गरेका छन्। तिनै सूत्रका आधारमा नेपाली, हिन्दी, मैथिलीलगायतका भाषामा छन्द प्रयोग गरेर काव्य सिर्जना गर्ने परम्परा रहँदै आएको छ।
नेपाली भाषामा छन्दमा कविता सिर्जना हुन थालेपछि छन्दशास्त्रका बारेमा पनि विद्वान्हरूले अध्ययन गर्न थालेका हुन्। अहिलेसम्म आइपुग्दा धेरै अध्येताहरूले छन्दशास्त्रका बारेमा ग्रन्थ तयार पारेका छन्। तिनै परम्परामा ‘छन्द मञ्जरी’ ग्रन्थ लेखेर वासुदेव ढुंगेलले इँटा थप्ने काम गरेका छन्। प्रस्तुत आलेखमा ढुंगेलको सोही ग्रन्थका बारेमा चर्चा गरिएको छ।
२६३ पृष्ठको ‘छन्द मञ्जरी’ मा प्राध्यापक डा. दयाराम श्रेष्ठले ‘मन्तव्य’ मार्फत ढुंगेलको लगनशील, अध्ययनशील र अनुसन्धानशील प्राज्ञिक व्यक्तित्वको छविचित्र प्रतिबिम्बिन भएको उल्लेख गरेका छन्।
यसैगरी डा. गणेश अधिकारीले ‘छन्द मञ्जरी’ लाई छन्दहरू प्रयोगको रङ्गशाला नाम दिएर शुभकामना दिएका छन्। ग्रन्थकार ‘आफ्ना कुरा’ मार्फत ग्रन्थलेखनको प्रभाव, प्रेरणा र प्रकाशनससम्मका सन्दर्भहरूलाई चर्चा गरेका छन्। प्रकाशकीय मन्तव्यमा भुँडी पुराण प्रकाशनले ‘छन्द मञ्जरी’ को प्रकाशनले नेपाली साहित्यमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै अनुसन्धान ढाँचाको प्रस्तुत ग्रन्थलाई छन्दसम्बन्धी मौलिक र नवीन भनेको छ। यसरी भूमिका खण्डबाट पनि कृतिको औचित्य र महत्त्व पुष्टि हुन्छ।
‘छन्द मञ्जरी’ ग्रन्थमा छ खण्ड छन्- कविता सिद्धान्त, छन्द, वार्णिक छन्द, मात्रिक छन्द, लोकछन्द र शास्त्रीय बहर। पहिलो खण्डमा कविताको स्वरूप र कविता विधाको अन्य विधासँगको सम्बन्धका बारेमा विवेचना गरिएको छ। जस्तै : कविता र कथा, कविता र नाटक, कविता र उपन्यास, कविता र निबन्ध।
यसैगरी कविताको परिभाषा, कविताका तत्त्वहरू तथा कविताका विभिन्न उपविधाको तुलनात्मक वर्गीकरण गरिएको छ। छन्द कवितासँग सम्बन्धित भएकाले विधागत चिनारीका रूपमा यो खण्ड समेटिएको हुनुपर्छ।
दोस्रो खण्डदेखि ग्रन्थकारको अध्ययनशील व्यक्तित्वको प्रभाव देखिन थाल्छ। छन्दको सैद्धान्तिक स्वरूप र नेपाली कवितामा प्रयोगसँग सम्बन्धित यस खण्डमा छन्द शब्दको व्युत्पत्ति र अर्थ प्रस्तुत गर्दै ग्रन्थकारले मात्राको व्यवस्थितता, भावको अनुकूलता, प्रस्तुतीकरणको विशिष्टता तथा शब्द प्रयोगमा ललितता, उचितताबाट उत्पन्न हुने लयात्मक भंकारलाई छन्द भनेका छन्। छन्दको उत्पत्ति र क्रमिक विकासको वर्णन गर्ने क्रममा ग्रन्थकारले वेददेखिकै सन्दर्भ ल्याएका छन्। उनका अनुसार छन्द र संगीत वेदबाटै उत्पत्ति भएको हो।
यसपछि उनले पौरस्त्य वाङ्मयमा छन्द प्रयोगको विकासक्रमलाई क्रमिक रूपमा वर्णन गरेका छन्। पुराण, रामायण, महाभारत जस्ता ग्रन्थमा केकस्ता र कति संख्यामा छन्द प्रयोग गरिएको छ भन्ने तथ्य ग्रन्थमा पढ्न पाइन्छ।
ग्रन्थकारले पिंगललाई लौकिक छन्दको प्रणेता आचार्यका रूपमा चिनाएका छन्। छन्दको गण निर्धारणका क्रममा पिंगलले नै स्वर र व्यञ्जन वर्गका वर्णहरूलाई ह्रस्व र दीर्घ गरी दुई भागमा वर्गीकरण गरेका हुन्। ग्रन्थमा छन्दमा प्रयोग हुने ह्रस्व-दीर्घ र आठ वटा गणको विस्तृत व्याख्या गरिएको छ।
छन्दोबद्ध कवितामा गति र यतिको विधान नमिले अर्थ पनि बिग्रन सक्ने कुरालाई ग्रन्थकारले सोदाहरण व्याख्या गरेका छन्। छन्दोबद्ध कवितामा अभिव्यक्ति शैली, छन्दोबद्ध कवितामा विचार र भाव पक्षको भूमिका, पिंगलकृत छन्दशास्त्रअनुसार छन्दका प्रकार यस खण्डका अन्य वर्णनीय विषय हुन्।
तेस्रो खण्डमा ग्रन्थकारले वार्णिक छन्दको परिचय, लक्षण र उदाहरण प्रस्तुत गरेका छन्। यसमा कवित्, कूटपद्य, मुक्तक, झन्डा, एलाक, हाइकु, तांका, सोदोकाजस्ता कविताका लघुत्तम रूपको संरचनागत स्वरूप, आकार, अक्षर र हरफ संख्याको भिन्नभिन्न ढाँचाको चर्चा गरिएको छ। यसबाट कविताका विभिन्न रूपका बारेमा जानकारी हुन्छ। मुक्त छन्दको सामान्य परिचय र उदाहरण यस खण्डका अन्य विषय हुन्।
वार्णिक छन्द : परिचय, लक्षण र उदाहरण प्रस्तुत ग्रन्थकै महत्त्वपूर्ण विषय यसै खण्डमा छ। यसमा ग्रन्थकारले एकदेखि ३४ अक्षरसम्मका छन्दहरूको परिचय, लक्षण र उदाहरण प्रस्तुत गरेका छन्। उदाहरण नेपाली कविताबाटै लिइएको छ। यस क्रममा २७६ वटा छन्दहरूको चर्चा गरिएको छ।
ग्रन्थको चौथो खण्ड मात्रिक छन्दमा आधारित छ। मात्राका आधारमा लयको निर्धारण हुने वा छन्दमा मात्राको महत्त्वपूर्ण भूमिका रहने छन्द मात्रिक छन्द हो भन्ने परिभाषा ग्रन्थकारको छ। साथै कृतिमा यसैगरी सममात्रिक छन्दहरू, अर्धसममात्रिक छन्दहरू, विषम मात्रिक छन्द गरी ११ वटा छन्दका परिचय, लक्षण र उदाहरण प्रस्तुत गरिएको छ।
ग्रन्थको पाँचौँ खण्ड लोक छन्दको परिचय, केही लोक छन्दहरू र लोक छन्द : विविधमा आधारित छ। यसमा ग्रन्थकारले झ्याउरे, सवाई, बालोरी, युगल बालोरी, सेलो, घाँसे भाका, तीज भाका, रोइला भाका, मारुनी भाका, राजमती भाका, रसिया भाका र पूर्वेली भाका गरी २४ वटा लोकभाकाको परिचय, लक्षण र उदाहरण दिएका छन्।
छैटौँ खण्ड शास्त्रीय बहर (गजलको शास्त्रीय सिद्धान्तमा आधारित लय) का बारेमा सैद्धान्तिक व्याख्या गरिएको छ। यसमा गजलको परिचय, संरचनात्मक स्वरूप, शास्त्रीय बहरका रुक्नहरूको परिचय सोदाहरण दिइएको छ।
संस्कृत काव्यशास्त्रमा लक्षण ग्रन्थ लेखनको लामो परम्परा छ। नेपाली पनि साहित्यशास्त्रका विभिन्न पक्षहरूमा आधारित भएर लक्षणग्रन्थ लेखिँदै आएको छ। त्यसैको निरन्तरतामा ‘छन्द मञ्जरी’ आएको हो। अचेल छन्दमा कविता लेख्नेहरू ओझेलमा पर्न थालेका छन्। भानुभक्तको रामायण र बुद्धिविनोदको पद्य वाचन गर्नेहरूलाई सिलोकेको संज्ञा दिने कविजमात पनि बाक्लै छ। त्यतिमात्रै होइन, पाठक र समालोचक पनि छन्दका कवितालाई उतिसारो महत्त्व दिँदैनन्। कठोर नियममा बाँधिएर रचना गर्न र वाचन गर्न नरुचाउनेले छन्दको विरोध गरे पनि काव्यको बाहिरी सौन्दर्य उच्च बनाउनका लागि छन्दले अहं भूमिका खेलेको धेरै अघिदेखि हो।
‘छन्द मञ्जरी’ नेपाली भाषामा छन्दशास्त्रबारे लखिएको नयाँ लक्षणग्रन्थ हो। शोधमूलक यो ग्रन्थमा शास्त्रीय छन्दमात्रै नभएर गजल एवम् लोकलयका लक्षण र उदाहरण प्रशस्त समावेश छन्। छन्दमा कविता लेख्न खोज्नेका लागि मात्रै होइन छन्दशास्त्रको अध्येताका लागि यो ग्रन्थ आधिकारिक बन्ने निश्चित छ।