
काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी गरेको बताएकी छन्।
शुक्रबार ललितपुरमा राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ लाई प्रतिस्थापन गर्नेगरी तर्जुमा हुँदै गरेको नयाँ नीति र विधेयकको मस्यौदाबारे भएको छलफलमा बोल्दै मन्त्री शर्माले सरकारले आगामी हिउँदे अधिवेशन माघको तेस्रो साताबाट बोलाउने तयारी थालेको बताएकी हुन्।
मन्त्री शर्माले आगामी संसद् अधिवेशनमा पेस गर्नेगरी सरकारले चलचित्रसम्बन्धी ऐन तयारी गरिरहेको पनि बताइन्। नेपाली चलचित्रलाई राम्रो बनाइ विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था भएकाले चलचित्रको गुणस्तरीयतामा ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ। उनले नेपाली चलचित्र विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न योग्य बनाउनुपर्ने बताइन्।