एसईईको ग्रेडिङमा पर्न ३५ अंक ल्याउनैपर्ने कारण यस्तो छ

हिमाल प्रेस २७ पुष २०८० १३:२४
878
SHARES
एसईईको ग्रेडिङमा पर्न ३५ अंक ल्याउनैपर्ने कारण यस्तो छ

काठमाडौँ- यस वर्षको एसईई चैत पहिलो साता गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ। बोर्डका अनुसार माघ पहिलो सातासम्म परीक्षाको रुटिन सार्वजनिक हुनेछ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० मा एसईई हटाउने प्रस्ताव गरेपछि धेरैलाई यसपटक एसईई नहुने हो कि भन्ने शंका उत्पन्न भएको थियो।

विधेयकका बारेमा दफावार छलफल भइरहेकाले पारित भई कानुनी रूप लिन समय लाग्नेछ।  बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यस वर्ष एसईई हुनेमा कुनै अन्योलमा नपर्न स्पष्ट पारेका छन्। बोर्डले त एसईई हटाउन नहुने सुझाव पनि सांसदहरूलाई दिइसकेको छ।

एसईईमा यसपल्ट संशोधित अक्षरांकन पद्धति (ग्रेडिङ सिस्टम) लागू हुने भएकाले विद्यार्थीमा थप भ्रम उत्पन्न भएको छ। न्यूनतम ३५ अंक नल्याए फेल हुने भन्ने समाचारमा आउन थालेपछि विद्यार्थीमा भ्रम उत्पन्न भएको डा. शर्माले बताए।

उनले यस वर्ष नयाँ पाठ्यक्रमअनुसार एसईई हुन लागेकाले अक्षरांकन पद्धतिमा केही संशोधनमात्र गरिएकाले भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन्। शर्माले भने, ‘यस्तो प्रणाली यसअघि कक्षा १२ मा विगत दुई वर्षदेखि लागू भइसकेको छ। यसपटकदेखि कक्षा १० मा लागू गरिएको हो।’

नयाँ प्रणालीअनुसार ग्रेडिङमा पर्नका लागि जुनसुकै विषयमा पनि न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ। शर्माले भने, ‘यो प्रणाली विगतको ग्रेडिङ प्रणालीभन्दा फरक भएकाले न्यूनतम ३५ प्रतिशत नल्याएसम्म कुनै विषयमा ग्रेडेड हुँदैन। त्यसैले ग्रेडिङमा पर्न ३५ प्रतिशत ल्याउनैपर्ने प्रावधान राखिएको छ।’

यसअघि एसईईमा नौवटा ग्रेड (A+, A, B+, B, C+, C, D+, D र E) थिए। त्यति बेला २० भन्दा कम अंक ल्याएमा E ग्रेड आउँथ्यो भने अर्थात् ग्रेडिङ प्रणालीमा न्यूनतम यति प्रतिशत चाहिन्छ भन्ने थिएन। संशोधित  प्रणालीअनुसार सातवटा ग्रेड (A+, A, B+, B, C+, C र D) छन्।

न्यूनतम ३५ प्रतिशत  ल्याउनैपर्ने किन भन्ने प्रश्नमा डा. शर्माले भने, ‘D भनेको न्यूनतम ग्रेड हो। त्यो आउनका लागि ३५ प्रतिशत ल्याउनैपर्‍यो। D भन्दा तल ग्रेड छैन।’ बोर्डका अनुसार D भनेको ३५ र सोभन्दा माथि ४० भन्दा कम हो। ३५ भन्दा कम आएमा ननग्रेडमा पर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ।

डा. शर्माले भने, ‘विगतको ग्रेडिङ सिस्टम (अक्षरांकन प्रणाली) मा केही संशोधन गरिएको हो। विगतमा A+ देखि E सम्म थियो। २० प्रतिशत अंक आउनेको पनि ग्रेड दिएर नतिजा प्रकाशन हुँदै आएको थियो। अहिले त्यसलाई परिवर्तन मात्र गरिएको हो।’

साथै विद्यार्थीले विद्यार्थीले लिखितमा ३५ प्रतिशत (२७ अंक) ल्याउनैपर्छ भने प्राक्टिकलमा ४० प्रतिशत (१० अंक) ल्याउनुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ।

यस्तो छ ग्रेडिङको नयाँ व्यवस्था

प्रकाशित: २७ पुष २०८० १३:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − four =