यौनधन्दाको बदलिँदो स्वरूप : स्पा र मसाज सेन्टरमा ‘ह्याप्पी इन्डिङ’

रमेश भारती २५ पुष २०८० २०:१०
692
SHARES
यौनधन्दाको बदलिँदो स्वरूप : स्पा र मसाज सेन्टरमा ‘ह्याप्पी इन्डिङ’

काठमाडौँ- तीन वर्षअघि रामेछापकी १७ वर्षीया युवती उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ आइन्। परिवारको आर्थिक अवस्था कमजोर भएका कारण ती युवती कामको खोजीमा भौँतारिइन्। कतै काम नपाएपछि कलेजमा चिनजान भएकै साथीको दिदीमार्फत उनी ठमेलको एक स्पा सेन्टरमा काम गर्न पुगिन्।

जागिर खाँदै अध्ययन गर्नुपर्ने बाध्यता भएका कारण स्पामा काम गर्न थालेको राजधानीमा आयोजित एक कार्यक्रममा उनले बताएकी हुन्। राम्रो ठानेर छिरेको त्यही रोजगारीले अहिले उनी असुरक्षित भएकी छन्। एक त मसाज अथवा स्पामा काम गर्दा थोरै तलब पाउने गरेको र अर्को मानसिक एवं शरीरिक शोषण भइरहेको उनले बताइन्।

‘स्पामा तेल लगाएर मसाज गर्ने हो। तर अहिले यो क्षेत्रमा त्यस्तो छैन। यहाँ यौन व्यापार भइरहेको छ। प्रहरी र सरकारी कर्मचारीकै आडमा स्पा तथा मसाज सेन्टर सञ्चालकले युवतीलाई जबरजस्ती यौनधन्दामा लगाइरहेका छन्,’ उनले भनिन्।

आफू गरिब भएकै कारण यो क्षेत्रमा आउने बाध्य भएको उनी बताउँछिन्। ग्राहक केकति आउँछन् भन्ने होइन, स्पा र मसाज सेन्टरमा कस्ता ग्राहक आएर फर्किन्छ भन्ने मुख्य विषय रहेको उनको तर्क छ।

जनकपुरकी एक युवती आयुर्वेदिक पढाइ सकेर राजधानीमा रोजगारीको खोजीमा थिइन्। पढाइअनुसारको रोजगारी नपाएपछि उनी पनि तीनकुनेको एक आयुर्वेदिक मसाज सेन्टर काम गर्न पुगिन्। उनले भनिन्, ‘सुरुमा राम्रै भइरहेको थियो, पछिपछि मसाज मात्र होइन, जबरजस्ती यौन गतिविधिमा सामेल हुनुपर्‍यो।’

उनले बाहिर एक हजारमा मसाज गरिने भने पनि भित्र अर्कै काम हुने गरेको जानकारी दिइन्। ‘मसाजको पैसा तिरेर भित्र ग्राहक आएपछि थप सर्भिसको कुरा हुन्छ। ग्राहकलाई ‘ह्याप्पी इन्डिङ’को सुविधा हुन्छ,’ उनले भनिन, ‘मसाजमा काम गर्दा तलब त कति हुन्छ? सबै पैसा ‘ह्याप्पी इन्डिङ’बाट तान्ने हो।’ अन्यथा मासिक ७ देखि ९ हजार तलबमा चित्त बुझाउनुपर्ने उनले बताइन्। स्पामा काम गरेपछि हरेक ग्राहकलाई ह्याप्पी इन्डिङ गराउनुपर्ने हुन्छ। ती युवतीका अनुसार ह्याप्पी इन्डिङ भनेको यौन क्रियाकलाप हो।

उनी आयुर्वेद पढेर रोजगारी नपाएपछि यो पेसामा आउन बाध्य भएको बताउँछिन्। उनी भन्छिन्, ‘देशमा सरकारले रोजगारीमा दिन सक्दैन। त्यही भएर यस्तो काम लाग्नुपरेको छ।’

सुन्धाराको एक स्पामा काम गर्दै आएकी काठमाडौँकी एक युवतीले १५ सय रुपैयाँमा मसाज र ह्याप्पी इन्डिङ दुवै हुन्छ भनेर ग्राहक आउने गरेको बताइन्। उनका अनुसार स्पामा १६ वर्षदेखि ७५ वर्षसम्म ग्राहक आउने गरेका छन्। उनले भनिन्, ‘पैसा लिएर उनीहरूलाई मसाज र ह्याप्पी इन्डिङको व्यवस्था गर्नुपर्छ।’

मसाज अथवा स्पामा आएका पुरुषले जथाभाबी हातपात पनि गर्ने गरेको युवतीहरू बताउँछन्। उनीहरूका अनुसार गोप्य अंगमा पनि मसाज गरिदिनुपर्छ। यही बेला ती ग्राहक उत्तेजित भएर जथाभाबी हातपात गर्छन्। ‘कतिपय पुरुष यौनकै लागि स्पामा आउने गरेका छन्। स्पामा आएका कतिपय पुरुषले मसाज पछि गरुँला अहिले त्यही काम पहिला गरुँ भनेर प्रस्ताव गर्छन्,’ एक युवतीले भनिन्।

यस क्षेत्रमा काम गर्ने महिलाको अवस्था नाजुक भए पनि बाहिर बोल्न सक्ने अवस्था नभएको उनको भनाइ छ। ‘ह्याप्पी इन्डिङ’ पछिल्लो समय मसाज र स्पा धाउने ग्राहकमाझ चल्तीको गोप्य भाषा हो। कसैले छापा मार्ला भन्ने डर पनि भएन मज्जा पनि हुने भन्दै ग्राहक ‘ह्याप्पी इन्डिङ’ का लागि आउने गरेको स्पा सञ्चालन गर्दै आएका महिलाहरू नै बताउँछन्।

तीनकुनेको एक स्पा सञ्चालकले भनिन्, ‘पहिले व्यापारी र विवाहित आउँथे। अहिले कलेज विद्यार्थी पनि ह्याप्पी इन्डिङ भन्दै आउने गरेका छन्।’ ग्राहकको मागअनुसार ह्याप्पी इन्डिङको अतिरिक्त सेवाका लागि दुई हजारदेखि पाँच हजार रुपैयाँसम्म तोकिएको ती सञ्चालकको भनाइ छ। ‘हातले मात्र अतिरिक्त सेवा लिने भए त्यो पाँच सयदेखि एक हजार मात्र पनि हुन्छ। तर ह्याप्पी इन्डिङको सेवा समेत फरक र युवतीमा भर पर्छ,’ उनले भनिन्। ती महिला पनि स्पामा सात वर्ष काम गरेपछि सञ्चालक बनेको बताउँछिन्।

मसाजका थाई, स्विडिस, डिप टिस्यु वा ट्रिगर पोइन्टसहित दर्जनौँ विकल्प हुन्छन्। त्यसमा ह्याप्पी इन्डिङको सुविधा लिने कि नलिने ग्राहकमा भर पर्नेको ती सञ्चालकले बताइन्।

मसाज सेन्टर र स्पामा काम गर्ने अधिकांश युवती अथवा महिलाको आआफ्नै बाध्यता छ। पछिल्लो समय नेपालमा पनि स्पा र मसाज गराउने प्रचलन बढेसँगै यो व्यवसाय पनि फस्टाउँदै गएको छ। अधिकांश युवती आर्थिक अवस्था कमजोर भएका कारण स्पा र मसाज सेन्टरमा काम गर्नुपर्ने बाध्यता भएको सुनाउँछन्। मसाज र स्पा सेन्टरमा काम गर्नेमा प्रायः डिभोर्सी, आर्थिक अवस्था कमजोर भएका, रोजगारी नपाएका, ब्युटिसियन सिकेका महिला हुने गरेका छन्।

मसाज सेन्टर र स्पामा काम गर्नेमध्ये थोरैले मात्र तालिम लिने गरेका छन्। अधिकांशले सिक्दै काम गर्ने गरेका छन्। मसाज र स्पामा हुने अश्लील क्रियाकलाप रोक्न प्रहरीले बेलाबेलामा छापा मार्दै आएको छ।

देशभर मसाज तथा स्पामा करिब ३० हजार महिला र युवती कार्यरत रहेको श्रमिक महिला रक्षा नेपालको एक अध्ययनमा उल्लेख छ। अध्ययनअनुसार ठमेल, दरबारमार्ग, बालाजु क्षेत्रमा स्पा र मसाज सेन्टरमा यौनधन्दाको काम भइरहेको छ।

प्रहरीले भने मसाज र स्पा सेन्टरमा आशंकाका भरमा छापा मार्दैन। यस्ता क्षेत्रमा लागेका पीडितहरूबाट उजुरी नआएसम्म छापा नमारिने महानगरीय प्रहरी वृत्त दरबार मार्गका डीएसपी गोविन्द थापाले बताए। उनले भने, ‘स्पा तथा मसाज सेन्टरमा यौनधन्दा भइरहेको मौखिक सूचना आउँछ तर उजुरी परेको पाइँदैन। त्यत्तिकै छापा मार्न पनि मिल्दैन।’

यस्तो पेसामा प्रहरी संलग्न भए तत्काल कारबाही हुने थापाले बताए। उनले भने, ‘राजधानीका दरबारमार्ग र ठमेल क्षेत्रमा स्पा र मसाज बढी हुने स्थान हो। मलाई लाग्छ यसमा प्रहरी संलग्न छैन। संलग्न भएको पुष्टि भएमा हामी कारबाही गर्छौँ।’

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रवक्ता मणिनाथ गोप मनोरञ्जनको क्षेत्र मानिने दोहोरी, डान्सबार, स्पा, मजास पार्लर, क्याबिन रेस्टुरेन्टमा आश्रित महिलामाथि कार्यस्थलमा हुने यौनजन्य हिंसा भइरहेको विषयमा सरकार गम्भीर रहेको बताउँछन्।

उनका अनुसार मसाज तथा स्पामा रोजगारीका नाममा भइरहेको विकृति प्रहरीले रोक्न प्रयास गरिरहेको छ। ‘यस क्षेत्रका विकृतिका नाममा समाचार आए पनि लिखित उजुरी आउँदैन। पीडित यस्तो भयो भन्दै आउन डराउँछन्,’ उनले भने।

प्रकाशित: २५ पुष २०८० २०:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − four =