घरमै ट्रान्सक्रिप्ट दिलाउने यस्तो छ त्रिविको योजना [भिडिओसहित]

हिमाल प्रेस २५ पुष २०८० ९:४०
316
SHARES
घरमै ट्रान्सक्रिप्ट दिलाउने यस्तो छ त्रिविको योजना [भिडिओसहित] पुष्पराज जोशी, परीक्षा नियन्त्रक, त्रिवि

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय र त्यसका आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीले परीक्षा नतिजा वर्षौँ कुर्नुपर्ने बाध्यता छ। ट्रान्सकिप्ट लिँदा विद्यार्थीले खेप्नुपर्ने हैरानी पनि कम छैन।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने परीक्षा समयमै हुने र माघदेखि ट्रान्सकिप्ट अनलाइनबाटै लिन सकिने दाबी गरेका छन्। हिमाल प्रेसको साप्ताहिक कार्यक्रम ‘एड्टक’ मा कुराकानी गर्दै जोशी भन्छन्,‘आगामी माघको दोस्रो हप्तादेखि विद्यार्थीले अनलाइन फाराम भरेर ट्रान्सकिप्ट लिन सक्छन्। ट्रान्सकिप्टदेखि सबै सेवा बल्खु जान नपर्ने गरी हामी सेवा सुरु गर्छौँ।’

परीक्षा नियन्त्रक जोशीले परीक्षासम्बन्धी सम्पूर्ण काम अनलाइन प्रणालीमा लगिएको र अब छिटोछरितो सेवा दिने बताए। ‘केही सुधारका काम अगाडि बढाएका छौँ। डिजिटललाइजेसन भयो। विद्यार्थीलाई बल्खुमा लाइन नलगाईकन परीक्षासम्बन्धी सम्पूर्ण सेवा अनलाइन प्रणालीबाट दिन्छौँ। कोभिडपछिका परीक्षा सक्ने क्रममा लागेका छौँ,’ उनले भने।

उनले त्रिभुवन विश्वविद्यालयबाट वार्षिक साढे ५ देखि ६ लाख विद्यार्थीको परीक्षा लिने गरेको बताए। परीक्षा नियन्त्रण कार्यालयले विगतका धेरै कमजोरीलाई चिर्दै आएको बताउँदै जोशीले छिट्टै क्यालेन्डर प्रकाशन गर्ने दाबी पनि गरे। उनले भने, ‘एकै रातमा सम्भव नहोला तर विद्यार्थी भर्ना भएको चार वर्षभित्र ट्रान्सकिप्ट लिएर जाने बनाउँछौँ। वार्षिक र सेमेस्टर प्रणाली दुवैलाई मिलाएर क्यालेन्डर प्रकाशित गर्नुपर्ने हुन्छ। १/२ दिनभित्रमा हाम्रो क्यालेन्डर प्रकाशित हुन्छ।’

२०७५ सालसम्मको परीक्षा नतिजा तीन महिनाभित्र प्रकाशित गर्ने गरेको बताउँदै त्यसपछि केही अप्ठ्याराहरू आएको जोशीले बताए। जोशीले परीक्षा नियन्त्रण कार्यालय बल्खुमा जनशक्ति अभाव भएको पनि बताए। २०७३ सालदेखि कर्मचारी आपूर्ति नभएको र १२६ जना कर्मचारीको भरमा काम गर्नुपर्ने बाध्यता रहेको जोशीको भनाइ छ।

‘हाम्रो बाध्यता के हो भने २०७३ सालपछि कर्मचारीको आपूर्ति भएको छैन। २४४ जनामा १२६ जना हुनुहुन्छ। दक्ष कर्मचारीलाई डिन कार्यालय सारिएको छ। त्यसको सट्टामा आउने कर्मचारीले पिकअप लिन सकेनन्’, जोशीले भने, ‘लगत्तै कोभिड आयो। जसले गर्दा धराशयी अवस्थामा रहेको विश्वविद्यालय जोगाउनुपर्ने भयो। विद्यार्थी जहाँ छ त्यहीँ परीक्षा लिएर पनि विश्वविद्यालयलाई जोगाउन लाग्यौँ।’

जोशीले त्रिविमा विद्यार्थी संख्या नघटेको पनि बताए। उनले भने, ‘विद्यार्थी घटेका छैनन्। रेकर्डमा हेर्दा हुन्छ गत वर्ष जति थिए अहिले पनि उति नै संख्यामा छन्।’

परीक्षा नियन्त्रक जोशीले उच्च तहका विद्यार्थीमा सन्दर्भसामग्री खोज्ने, पाठ्यक्रम फलो गर्ने, तार्किक क्षमताको अभाव हुँदै गएको बताए। परीक्षा आउनु एक/दुई महिना अगाडिबाट मात्र विद्यार्थीले परीक्षाको तयारी गर्दा नतिजा कमजोर देखिने गरेको जोशी बताउँछन्। उनले पछिल्लो समय विद्यार्थीको अध्ययनको दायरा साँघुरिँदै गएको बताए। उनको भनाइमा सन्दर्भ खोजीखोजी अध्ययन गर्ने, तार्किक उत्तर दिने, उदाहरण दिने प्रतिभाशाली विद्यार्थीको नतिजा स्वतः उच्च हुन्छ।

‘एउटा प्रतिभाशाली विद्यार्थी हुन्छ। उसले धेरै सन्दर्भ खोज्छ। पढ्छ। प्रश्न जे सोधिएको छ त्यही रूपमा तार्किक उत्तर दिन्छ। त्यसको स्कोर उच्च नै हुन्छ। केही नजान्ने, आज कुन विषयको परीक्षा हो त्यो पनि थाहा नपाउने विद्यार्थी पनि हुन्छन्। परीक्षा कस्तो गरिस् भनेर कसैले सोध्यो भने राम्रो गरेँ भनेर अभिभावकको आँखामा छारो हाल्छ। मैले त राम्रो गरेको थिएँ, फेल गरिदिए भन्छ,’ जोशी भन्छन्, ‘एभरेज विद्यार्थीको गेसपेपरदेखि पुराना प्रश्नहरू पढ्ने बानी हुन्छ। यो ट्रेन्ड आयो। परीक्षामा सबैको भाषा एउटै हुन्छ। विद्यार्थी साँघुरिँदै आए। टेक्सबुक फलो गर्देनन्। परीक्षाको एक/दुई महिनाअघिदेखि तयारी गर्‍यो, सामग्री संकलन गर्‍यो, बजारमा लेखेको भेट्यो, सही हो कि होइन उसले विश्लेषण गदैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eight =