मावि चलाउन एउटै मात्र दरबन्दी

हिमाल प्रेस २४ पुष २०८० ९:०८
6
SHARES
मावि चलाउन एउटै मात्र दरबन्दी

धनगढी- एउटा मात्रै दरबन्दीले छ वटा माध्यमिक विद्यालय चलिरहेको छ भन्दा आश्चर्य लाग्न सक्छ । तथापि कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित माध्यमिक विद्यालय एउटै दरबन्दीबाट सञ्चालन भइरहेका छन्।

गाउँपालिकाका अध्यक्ष निर्मल रानाका अनुसार विद्यार्थीको अनुपातमा मावि शिक्षक दरबन्दी न्यून हुँदा पठनपाठनमा समस्या भइरहेको छ। भौगोलिक रूपमा विकटमा रहेको पालिकालाई शिक्षणका हिसाबले पनि विकट पारिएको छ।

अध्यक्ष रानाले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी स्वीकृत गर्न माग गर्दै छ वटा माध्यमिक विद्यालय चलाउन एउटा मात्रै दरबन्दी स्वीकृत गर्नु अन्याय भएको बताए।

सो गाउँपालिकाको वडा नम्बर १ नौरंगा, २ स्थित कञ्ज, ३ स्थित छोटी पर्सियामा माध्यमिक विद्यालय सञ्चालन भइरहेका छन् । वडा नम्बर ४ को पर्सिया र सिकलपट्टी जाई र वडा नम्बर ५ को शानदेऊमा माध्यमिक विद्यालय सञ्चालन भइरहेको छ।

यी विद्यालय सञ्चालनका लागि स्वीकृत दरबन्दीका अतिरिक्त राहत शिक्षक छ जना, शिक्षण सिकाइ अनुदान आठ जना कार्यरत छन्। विद्यालय सञ्चालनका लागि बाँकी निजी स्रोतबाट शिक्षक राखिएको छ।

माध्यमिक तहमा कम्तीमा पनि विषयगत पाँच जना शिक्षक आवश्यक पर्छ तर अत्यन्त न्यून जनशक्तिका भरमा माध्यमिक कक्षा सञ्चालन गर्न बाध्य रहेको शिक्षा अधिकृत सिद्धराज भट्टले बताए। उनका अनुसार शैक्षिक उद्देश्य र पाठ्यक्रम पूरा गर्नका लागि यो जनशक्ति अत्यन्त थोरै हो। अधिकृत भट्टले शिक्षक दरबन्दी र जनशक्ति नै कम हुँदा प्राथमिक विद्यालय तहको योग्यता भएका शिक्षकबाट माध्यमिक तहका कक्षामा पठनपाठन गराउन बाध्य भएको बताए।

कतिपय विद्यालयले चन्दा उठाएर तलब खुवाउने गरी निजी स्रोतका शिक्षक राखेको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ।

लालझाडी गाउँपालिकामा १६ वटा सामुदायिक विद्यालय रहेका छन्। जसमा तीन वटा प्राथमिक र बाँकी सात वटा आधारभूत तह पढाइ हुने विद्यालय रहेका छन्। प्राविमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी ठिकै रहे पनि मावि र आधारभूत दुवैमा शिक्षक दरबन्दी न्यून रहेको शिक्षा अधिकृत भट्टले जानकारी दिए। उनले अहिलेको अनुदानसमेत गरेर माविका लागि पाँच जना दरबन्दी आवश्यक रहेको उल्लेख गरे।

सो पालिकाको शारदा मावि नौरंगा, भानु मावि कञ्ज र सरस्वती मावि छोटी पर्सियामा कक्षा ९ देखि १२ सम्मको पढाइ पनि भइरहेको छ। यी विद्यालयले कुनै पनि अनुदानबिनै १२ सम्म कक्षा सञ्चालन गरिरहेको जनाइएको छ।

अस्थायी दरबन्दीसमेत नरहेको उल्लेख गर्दै शिक्षा अधिकृत भट्टले तीन वटै विद्यालय निजीको भरमा चलिरहेको बताए। लालझाडी गाउँपालिकालाई दुई वर्षअघि नै पूर्ण साक्षर पालिका घोषणा गरिएको थियो। गोरखापत्र दैनिकबाट

प्रकाशित: २४ पुष २०८० ९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 7 =