शिक्षक कर्मचारीमाथि शोषण : तलब मागे रोजगारीबाटै निकाल्छन् निजी विद्यालय

हिमाल प्रेस २४ पुष २०८० ७:१९
4
SHARES
शिक्षक कर्मचारीमाथि शोषण : तलब मागे रोजगारीबाटै निकाल्छन् निजी विद्यालय

काठमाडौँ- पछिल्लो समय निजी शिक्षण संस्थाबाट शिक्षक कर्मचारीमाथि शोषण गर्ने क्रम बढेको छ।

काम लगाउने तर नियमित तलब सुविधा नदिने र तलब मागेमा रोजगारीबाटै निकालिदिने प्रवृत्ति पनि झाँगिदै गएको छ।

काममा लगाएर पनि तलब भत्ता नदिने यस्ता शैक्षिक संस्थालाई कारबाही तथा आफूहरूको पारिश्रमिक दिलाइदिन माग गर्दै शिक्षकहरूले काठमाडौँको जिल्ला प्रशासन कार्यालय तथा काठमाडौँ महानगरपालिकालाई समेत गुहार्न थालेका छन्।

काठमाडौँ महानगरपालिकाका अनुसार आधा दर्जनभन्दा बढी शिक्षण संस्थाले तलब भत्ता नदिएको भन्दै शिक्षकले लिखित उजुरी नै दिएका छन्। पछिल्लो समय शान्तिनगरस्थित ग्लासियर इन्टरनेसनल कलेजका शिक्षकले आफूहरूको पारिश्रमिक प्राप्त गर्न आवश्यक सहयोग गरिदिन जिप्रका काठमाडौँलाई लिखित अनुरोध गरेका छन्।

उक्त क्याम्पसले आफूहरूको २० लाख रुपैयाँभन्दा धेरै रकम नदिएको भन्दै शिक्षकहरूले पहिलो पटक गत असार १८ गते कामपामा लिखित उजुरी दिएका थिए।

शिक्षकको उजुरीपछि महानगरको शिक्षा अधिकारी सीताराम कोइरालाले गत असार ३० गते क्याम्पसको नाममा पत्र काटेर शिक्षकको पारिश्रमिकबारे तथ्य जानकारी दिन एक साताको अल्टिमेटम दिएको थियो।

महानगरले ताकेता गरेपछि क्याम्पसले साउन ९ गते महानगरका शिक्षा अधिकारीलाई सम्बोधन गर्दै पठाएको पत्रमा शिक्षकहरूको बाँकी रहेको तलब असोज मसान्तभित्रमा भुक्तानी गरिसक्ने जानकारी गराएको थियो। तर अझै पनि आफूहरूलाई तलब नदिएको शिक्षकहरूको गुनासो छ।

२१ जना शिक्षकको तलब दिन बाँकी छ। तीमध्ये कसैलाई छ लाख रुपैयाँसम्म दिन बाँकी छ।
बैंक खातामा रकम नभएकाले विद्यालयका प्राचार्य दिवस शाक्यले शिक्षकलाई दिएको चेक साटिएको छैन।

चार लाख ९३ हजार रुपैयाँ लिन बाँकी रहेको दाबी गर्दै शिक्षक विपिनकुमार दाहालले भने, ‘जिल्ला प्रशासन कार्यालय, महानगरपालिका तथा प्रहरी कार्यालयसम्म निवेदन दिइसकेका छौँ। तर पनि पाउनुपर्ने रकम पाउन सकिएको छैन।’

काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले ग्लासियरलगायतका शिक्षण संस्थाले तलब नदिएको भनेर महानगरपालिकामा उजुरी आएको बताए। तलब भत्ता नदिएको विषयमा नेपाल प्रहरीले मात्रै कारबाही गर्न सक्ने बताउँदै उनले भने, ‘हामीले गर्न सक्ने अन्तिम कारबाही भनेको शैक्षिक संस्था बन्द गराउनेसम्म हो। अति नै भयो भने यो निर्णय गर्न पनि पछि पर्दैनौ।’

पछिल्लो समय शिक्षकहरूले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुलाई पत्र पठाएको छ। ग्लासियर इन्टरनेसनल कलेजका सहप्राचार्य जानकीशरण यादवले भने प्रतिकूल अवस्थाका कारण शिक्षकलाई समयमै तलब दिन नसकिएको बताए।

उनले भने, ‘केहीलाई त दिइसकेका छौँ। बाँकीलाई पनि दिने कोसिस गर्दै छौँ।’ गोरखापत्र दैनिकबाट

प्रकाशित: २४ पुष २०८० ७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 8 =