सिप बिल्डिङमा २१ हजारको आवेदन, कोरियाले फर्काएन तीन पत्रको जवाफ

रमेश भारती २३ पुष २०८० १७:४४
5.8k
SHARES
सिप बिल्डिङमा २१ हजारको आवेदन, कोरियाले फर्काएन तीन पत्रको जवाफ

काठमाडौँ– दक्षिण कोरियामा रोजगारीका लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षामा थप २१ हजार २ सय ५४ जनाले आवदेन दिएका छन्। पुस १६ गतेदेखि आइतबारसम्म २१ हजार २ सय ५४ जनाले आवेदन दिएको शाखाले जनाएको छ।

उच्च अदालत पाटनको आदेशपछि रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले उत्पादनतर्फ पुनः आवेदन खुलाएको थियो। शाखाका अनुसार उत्पादनतर्फ थप आवेदनसहित अहिलेसम्मकै धेरै एक लाख ६५ हजार २ सय ५४ पुगेको छ। सिप बिल्डिङ (पानीजहाज बनाउने काम) को भाषा परीक्षामा ३१ हजार आवेदन थपिने शाखाको अनुमान छ। आवेदन दिने अन्तिम म्याद शुक्रबारसम्म तोकिएको छ।

सिप बिल्डिङको भाषा परीक्षाका लागि ३५ हजार ७ सय ८ जना सहभागी भएका थिए। तीमध्ये तीन हजार ९ सय ८९ जना उत्तीर्ण भए। अनुत्तीर्णमध्ये केही परीक्षार्थीले अदालतमा मुद्दा हालेका थिए। उच्च अदालत पाटनले शुक्रबार सिप बिल्डिङका लागि कोरियन भाषा परीक्षामा सहभागी सबैलाई आवेदन आदेश दिएको थियो। अनुत्तीर्ण प्रतिस्पर्धीले सोही दिन  बालकुमारीमा गरेको प्रदर्शनमा दुई युवाको ज्यान गएको थियो।

दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८ सय ४८ रोजगारीका लागि लैजाने कोटा छुट्याएको छ। जसका लागि परीक्षाको तयारी भइरहेको शाखाले जनाएको छ। परीक्षा फागुनभित्र हुनेछ।

कोरियाले दिएन जवाफ 

उच्च अदालत पाटनले सिप बिल्डिङका लागि कोरियन भाषा परीक्षामा सहभागी गराउन दिएको आदेशका विषयमा नेपालबाट गरिएको पत्राचारको कोरिया सरकारले जवाफ दिएको छैन। फेरि परीक्षामा सहभागी गराउन अदालतले दिएको आदेश र बालकुमारीमा आन्दोलनका क्रममा दई नेपालीको निधन भएको विषयमा जानकारी गराउँदै तीन पटक पत्राचार गरिए पनि कोरियाबाट जवाफ नआएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीले बताए।

बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो। घटनालाई कोरिया सरकारले गम्भीर रूपमा लिएकाले जवाफ नदिएको अनुमान मन्त्रालयका अधिकारीहरूको छ।

‘मन्त्रालयकै लेटरप्याडमा शाखाले दुई साताको अन्तरमा तीन पटक पत्राचार गरे पनि रिसोर्स डेभलपमेन्ट सर्भिस अफ कोरिया र एचआरडी सर्भिस अफ कोरियाबाट कुनै जवाफ आएको छैन। यसको अर्थ हामीले पनि बुझ्न सकेका छैनौँ’, मन्त्रालयका ती अधिकारीले भने।

यस विषयमा नेपालमा रहेका एचआरडीका कर्मचारी पनि बोल्दैनन्। सोही कारण पानीजहाज निर्माणका लागि लगिने कामदारको कोटा कटौती हुन सक्ने अनुमान सरकारी अधिकारीहरूको छ। अन्य विषयमा सरकारले कस्तो पहल गर्छ त्यसैमा भर पर्ने ती अधिकारी बताउँछन्।

ईपीएस शाखाका कर्मचारी पनि सिप बिल्डिङमा असफल भई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षाका लागि आवेदन दिएका परीक्षार्थीका हकमा के हुन्छ भन्ने टुंगो नभएको बताउँछन्।

बालकुमारी घटना र उच्च अदालतको आदेशपछि श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी र नेपालका लागि कोरियाली राजदूत पार्क टी योङबीच छलफल भएको थियो। श्रम सचिवसँग छलफल भए पनि राजदूत पार्कले पनि अहिलेसम्म केही प्रतिक्रिया नदिएको शाखाकै कर्मचारीले जानकारी दिए।

ईपीएसअन्तर्गत उत्पादनमूलक क्षेत्रमा परीक्षा आवेदन दिन पाउनुपर्ने माग गर्दै भएको विरोध प्रदर्शनका क्रममा भएको मृत्युको छानबिन गर्न उच्चस्तरीय आयोग गठन भएको छ।

आयोगले अहिले अनुसन्धान गरिरहेको छ। आयोगको छानबिन प्रतिवेदन आएपछि मात्र कोरिया सरकारले आधिकारिक जानकारी दिने प्रतीक्षामा श्रम मन्त्रालय रहेको छ।
नेपालमा भएका पछिल्लो घटनाका विषयमा नेपालस्थित कोरियाली राजदूत पार्क टी योङसँग उच्चस्तरीय छलफल भइरहेको श्रम मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले जानकारी दिए।

नेपालले दुई देशको समिति बनाएर ईपीएसको समस्या समाधान गर्न आग्रह गरेको छ। यस विषयमा कोरियाली पक्ष सकारात्मक देखिएको छ। छलफल जारी राखिने र सरकारले पनि कोरियाको रोजगारीमा देखिएका समस्या समाधान गर्न कूटनीतिक पहल गरिरहेको पोखरेलले बताए।

ईपीएसमार्फत अहिलेसम्म एक लाख ९ हजारभन्दा बढी नेपाली कोरिया पुगेको शाखाको तथ्यांक छ। हाल कोरियमा ६० हजार नेपाली कार्यरत छन्। ९ हजार नेपाली कोरिया जाने तयारीमा रहेको शाखाले जनाएको छ।

नेपाली कामदार नलैजाने कोरियाको चेतावनी

 

प्रकाशित: २३ पुष २०८० १७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 6 =