काठमाडौँ- प्रस्तावक र समर्थक नपाउँदा तीन वटा प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सभा सदस्यका उम्मेदवार टुंगो लगाउन सकेको छैन । राप्रपाले मधेश, कर्णाली र सुदूरपश्चिममा उम्मेदवार टुंग्याउन नसकेको हो।
‘समर्थक र प्रस्तावक पाउन नसकेपछि उम्मेदवारको नाम सार्वजनिक गरिएको छैन,’ राप्रपाका एक नेताले भने। मधेश प्रदेश सभामा राप्रपाका एक मात्र सदस्य छन्।
आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले ९ जना उम्मेदवारको भने टुंगो लगाएको छ। कोशी प्रदेशमा उद्धव पौडेल, बागमतीमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट र पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
उनका अनुसार गण्डकीमा गौमाया श्रेष्ठ, रोमबहादुर भण्डारी, लुम्बिनीमा निरञ्जन थापा, विजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ।