अमेरिकी राजनीतिलाई यतिबेला पक्षाघात भएको छ। यसको कारण हो, त्यहाँ विद्यमान विरोधाभास। विरोधाभास पनि साह्रै ठूलो, उत्तर अमेरिकामा देखिने ठूलाठूला समुद्री घाटीजत्रो।
अमेरिकामा डेमोक्र्याटिक पार्टीका नेताकार्यकर्ता भन्छन्, ‘डोनाल्ड ट्रम्प लोकतन्त्रका लागि खतरा हुन्। उनलाई फेरि राष्ट्रपति बनाउनै हुँदैन।’ अतः डेमोक्र्याटको अहिलेको अभियान हो, ट्रम्पलाई जसरी हुन्छ ह्वाइटहाउस फर्कन नदिने। यो अभियानमा सफल हुन डेमोक्र्याटिक पार्टीसँग बलिया उम्मेदवार हुनुपर्छ।
तर आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिकले उठाउन लागेका उम्मेदवार हुन्, जो बाइडन। यी ८१ वर्षीय नेताबारे भनिहालौँ, उनी अमेरिकी आधुनिक राजनीतिक इतिहासकै सर्वाधिक कमजोर मूल्यांकन पाइरहेका राष्ट्रपति हुन्। उनले कसरी ट्रम्पलाई पराजित गर्न सक्लान् त?
अमेरिका मात्र होइन समग्र पश्चिमाजगत्मै ‘एप्रुभल रेटिङ’ को चलन छ। सामान्य भाषामा ‘एप्रुभल रेटिङ’ को अर्थ यही हो, सर्वेक्षणमा नेताले पाउने समर्थन। हाल बाइडनको ‘एप्रुभल रेटिङ’ माइनस १६ छ। जबकि रिपब्लिकन पार्टीबाट चुनाव लड्ने अपेक्षा गरिएका ट्रम्प यस्ता राज्यहरूमा लोकप्रिय बन्दै गइरहेका छन्, जहाँ निश्चित पार्टीको वर्चस्व छैन।
हो ट्रम्पलाई सबैले अधिनायकवादी मान्न जरुरी छैन। तर अमेरिकामा एउटा ठूलो तप्का छ जसले ट्रम्पलाई अधिनायकवादको हिमायती मान्छ। ट्रम्पले ती ‘स्विङ’ राज्यहरूमा आफ्नो पकड बलियो बनाउँदै लानु भनेको उनलाई अधिनायकवादी मान्नेहरूका लागि खतराको घण्टी हो।
‘एप्रुभल रेटिङ’ आफ्नो ठाउँमा छ, बाइडनलाई सम्पूर्ण डेमोक्र्याटिक पार्टीपंक्तिको समर्थन छैन। त्यहाँभित्र एउटा ठूलो समूह छ, जो बाइडन निर्वाचन नलडून् भन्ने चाहन्छ। यद्यपि बाइडनलाई राष्ट्रपतिको उम्मेदवार बन्नबाट रोक्न सक्दैन। न त उनको प्रचारप्रसारमा सक्रिय भएर लाग्छ। बरु भित्रभित्रै असन्तुष्ट बनेर बसेको छ।
बाइडन आफ्नै पार्टीभित्र सर्वप्रिय बन्न सकिरहेका छैनन्, कारण छरपस्ट छन्। एउटा कारण त उनको उमेर हो। धेरै अमेरिकीको बुझाइ छ बाइडनमा उमेरको असर देखिन थालेको छ। बाइडन जति नै सही नियतका भए पनि उमेरले साथ दिइरहेको छैन भने उनलाई फेरि चार वर्षका लागि विश्वकै सर्वाधिक कठिन जिम्मेवारी दिन नहुने बहुमत अमेरिकीहरुको मत छ।
बाइडनका लागि सन् २०२३ एउटा मौका थियो, भइगो अब फेरि राष्ट्रपति बन्दिनँ भन्न। त्यसो भनेको भए उनीप्रतिको सम्मान बढ्ने थियो। अमेरिकी समाजमा उनी शालीन नेताका रूपमा स्थापित हुने थिए। त्यो पनि यस्तोबेला जतिबेला ट्रम्पलाई अत्यधिक अहंकार भएको नेता भनिँदैछ।
उसो त डेमोक्र्याटिक पार्टीका कतिपयले बाइडन उम्मेदवार बन्ने दौडबाट पछि हट्छन् भन्ने अनुमान पनि नगरेको होइन। यो अनुमान किन पनि जायज थियो भने मध्यावधि निर्वाचनमा उनको नेतृत्वमा डेमोक्र्याटले खासै गतिलो नतिजा ल्याएको थिएन।
दुर्भाग्यवस, बाइडनले फेरि एकपटक राष्ट्रपति बन्ने लालसा देखाए। उनको पार्टीले पनि उनलाई फेरि किन उम्मेदवार बनाउने भनेर कारणको फेरहिस्त पेस गर्यो। ती कुनै पनि कारण आकर्षक थिएनन्, छैनन्। बाइडन सन् १९८७ मै राष्ट्रपति बन्ने दौडमा थिए। त्यसबेला सफल नभए पनि उनी निरन्तर डटिरहे। अहिले आएर त उनलाई लाग्छ उनी नै सही विकल्प हुन्। गएको निर्वाचनमा ट्रम्पलाई हराइसकेका कारण यसपालि पनि आफू नै उम्मेदवार बन्न पाउनुपर्ने तर्क पनि उनले अघि सारेका छन्।
बाइडनका लागि उनका सल्लाहकार र सहयोगीहरू पनि यतिबेला मरिमेटेर लागिपरेका छन्। फेरि यो स्वाभाविक पनि हो। किनभने अमेरिकी राजनीतिमा पटकपटक शक्तिमा पुग्न सकिँदैन। बाइडनका सल्लाहकार र सहयोगीलाई थाहा छ, यो उनीहरूका लागि अन्तिम मौका हो। यसकारण उनीहरू चाहन्छन्, बाइडन आत्मसमर्पण नगरून्।
उता बाइडनका प्रतिद्वन्द्वी ट्रम्पसँग पनि रिपब्लिकन पार्टीपंक्तिको पूर्ण साथ छैन। जसरी बाइडनका आलोचक छन् त्यसरी नै ट्रम्पका आलोचक पनि छन्। तर उनीहरू ट्रम्पको खुलेर विरोध वा आलोचना गर्ने हिम्मत गर्न सक्दैनन्। बाइडनका आलोचक पनि चुपचाप छन्। पार्टी नेतृत्वसामु बाइडनका कमजोरीबारे बहस गर्न सकिरहेका छैनन्। उसो त उनीहरूलाई लागेको हुनसक्छ, बाइडनभन्दा बलिया उम्मेदवार आवश्यक छैन, ट्रम्प आफ्नै गल्ती र कमजोरीका कारण निर्वाचनमा पराजित हुन्छन्। तर यस्तो सोच्नु मूर्खता हो।
त्यसोभए बाइडनले के गर्दा उचित हो त? उम्मेदवारी त्याग्ने? झट्ट सुन्दा यो विकल्प सही लाग्न सक्छ। उसै पनि निर्वाचन आउन १० महिना बाँकी छ। पार्टीभित्र राष्ट्रपतिको उम्मेदवार बन्नसक्ने नेता थुप्रै छन्। यति हुँदहुँदै पनि बाइडनलाई मैदान छाड्न लगाउनु उचित हुँदैन। त्यसो गरे सन्देश यस्तो जान्छ, डेमोक्र्याटिक ट्रम्पका कारण आत्तियो।
आजका दिनमा बाइडनले उम्मेदवार बन्दिनँ भनिहाले भने डेमोक्र्याटिक पार्टी नयाँ प्रक्रियामा जानुपर्नेछ। फेरि कतिपय राज्यमा त प्रारम्भिक तहको निर्वाचनका लागि उम्मेदवारी समयसीमा नै नाघिसक्यो। यस्तोमा डेमोक्र्याटिकसँग डिन फिलिप्पिस र मारियान विलियम्सनको विकल्प रहन्छ। उसो त ती राज्यहरूमा नयाँ मितिको माग राख्ने उपाय सकिएको छैन।
तर यसो गर्न पनि सजिलो छैन। किनभने डेमोक्र्याटिकले आफ्ना मतदातालाई नयाँ उम्मेदवारबारे बुझाउनुपर्ने हुन्छ। फेरि एकपल्ट ढोका खुल्दा उम्मेदवारीका नयाँ आकांक्षी पनि देखापर्नेछन्। सन् २०२० को प्रारम्भिक निर्वाचनमा डेमोक्र्याटिक पार्टीका २९ उम्मेदवार थिए। यसपालि बाइडनसहित तीन छन्। बाइडन पछि हट्दा सुरु हुने नयाँ प्रक्रियाले उम्मेदवारको बाढी ल्याउनेछ। तिनलाई काँटछाँट गर्न पर्याप्त समय डेमोक्र्याटिक पार्टीसँग हुने छैन।
हुन त नयाँ प्रक्रियाले सिर्जना गर्ने भद्रगोलले डेमोक्र्याटिकलाई बलियो बनाउन पनि सक्छ। किनभने नयाँ प्रक्रियाले अन्ततः पार्टीलाई युवा उम्मेदवार दिनसक्छ। जोसँग निर्वाचन जित्ने ल्याकत हुनसक्छ। उसो त बर्नी स्यान्डर्सजस्ता अर्का उम्मेदवार पनि टुप्लुक्क आइपुग्न सक्छन्। स्यान्डर्स बाइडनभन्दा वृद्ध छन्।
डेमोक्र्याटिक पार्टीमा कमला ह्यारिस पनि छिन्। हाल उपराष्ट्रपति रहेकी उनी बाइडनभन्दा कान्छी हुन्। आउँदो नोभेम्बरमा ६० वर्ष पुग्ने भए पनि यो उमेर डेमोक्र्याटिक पार्टीका लागि युवा हो। तर दुर्भाग्यवश उनले पार्टी पंक्तिमाझ आफूलाई सम्भावित उम्मेदवारका रूपमा उभ्याउनै सकिनन्। किनभने उनी कुशल वक्ता होइनन्। उपराष्ट्रपति रहिरहँदा उनले रबरस्ट्याम्पको मात्र छवि बनाएकी छन्।
ह्यारिस क्यालिफोर्नियाली राजनीतिको उत्पादन हुन्। यो यस्तो राज्य हो, जो अमेरिका हाँक्नसक्ने नेता दिन असफल भइरहेको छ। उनी आफैँले पनि गृहराज्य बाहिर परिचय फैलाउन सकेकी छैनन्। सन् २०२० मा उनी राष्ट्रपतिको मुख्य उम्मेदवार बन्न् दौडमा थिइन्। तर उनको प्रचारशैली असाध्यै भद्दा थियो। उनी नेताभन्दा व्यंग्यकारका रूपमा प्रस्तुत भइरहेकी हुन्थिन्।
उपराष्ट्रपति ह्यारिसलाई हाल आप्रवासन र दक्षिणी सीमा हेर्ने जिम्मा दिइएको छ। यो यस्तो मामला हो, जसलाई ट्रम्पले आफ्नो चुनावी एजेन्डा बनाएका छन्। यसमा ट्रम्प बलिया छन्। जबकि डेमोक्र्याटिक पार्टी भने कमजोर छ। पार्टीको यो कमजोरी सुधार्ने काम ह्यारिसको हो। जसमा उनी निरन्तर असफल छिन्। फलतः आगामी निर्वाचनमा ट्रम्पविरुद्ध उनी बाइडनभन्दा कमजोर उम्मेदवार हुनेछिन्।
अब डेमोक्र्याटिक पार्टीसँग भएको विकल्प के हो त? बाइडनलाई विजयी बनाउन एकजुट हुने। फेरि अहिले बाइडनको पक्षमा माहोल सिर्जना हुने सम्भावना पनि छ। यसको कारण हो, सुध्रिँदै गएको अर्थतन्त्र। अहिले मजदुरको तलबसीमा बढाइएको छ। रोजगारीको दर बढ्दो छ। यो यस्तो समय हो, जहाँ डेमोक्र्याटिकले आफ्ना उम्मेदवारबारे मतदातामाझ उत्साह सिर्जना गर्न मेहनत गर्नुपर्छ।
यहाँ भुल्न नहुने तथ्य के छ भने चुनावी प्रचारप्रसारमा बाइडन सिपालु छैनन्। उनीसँग यो कला छैन। यसकारण उनलाई यस्तो सहयोगीको आवश्यकता छ जसले र्यालीमा उनको पक्षमा जोडदार भाषण गर्नसक्छ। टेलिभिजन बहसमा उनको रक्षा गर्नसक्छ। तर यो व्यक्ति ह्यारिस बन्न सक्दिनन्।
यस्तोमा ह्यारिसको भूमिका सीमित छ। बाइडन राष्ट्रपतिमा पुनः निर्वाचित भए ह्यारिस फेरि उही पदमा दोहोरिन सक्छिन्। उनका लागि यही भूमिका पर्याप्त हुनेछ, देश र पार्टीको सेवा गर्न। बाइडनले भने आफ्नो भूमिका केही हदसम्म परिवर्तन गर्नसक्छन्। उपराष्ट्रपतिलाई जिम्मेवारी थप्नसक्छन्। तर दोस्रो कार्यकालका लागि उनलाई ह्वाइट हाउस पठाउने हो भने डेमोक्र्याटिक पार्टीले चुनावी प्रचारप्रसारका लागि फितलो टोली बनाएर हुँदैन। अहिलेकै जसरी प्रचारप्रसार भइरहने हो भने डेमोक्र्याटिक पार्टी नयाँ विपत्तितर्फ अघि बढ्नेछ।
द इकनमिस्टबाट