
सोल (रासस/एएफपी)- दक्षिण कोरियाका विपक्षी नेता ली जे–म्युङमाथि मंगलबार छुरा प्रहार भएको छ। आफ्नो समर्थक भएको बहाना गर्दै भीडमा धकेल्ने एक व्यक्तिले उनको घाँटीमा छुरा प्रहार गरेका थिए। उनको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको उनको पार्टीले जनाएको छ।
पत्रकारहरूले घेरिएको अवस्थामा एक व्यक्तिले लीको घाँटीको देब्रेपट्टि छुरा प्रहार गरेको बुसान प्रहरी अधिकारी सोन जे–हानले बताए। लीको डेमोक्रेटिक पार्टीका क्वोन चिल–सेउङले लीलाई सुरुमा बुसानको अस्पताल लगिएको र पछि राजधानी सोल लगिएको उनले बताए। उनका अनुसार सोलमा लीको दुई घन्टासम्म शल्यक्रिया गरिएको थियो। अधिकारीहरूका अनुसार उनको अवस्थामा सुधार आइरहेको छ।
आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरिएको छ। पछिल्ला वर्षहरूमा कयौँ उच्च प्रोफाइलका दक्षिण कोरियाली राजनीतिज्ञमाथि सार्वजनिकरूपमा हमला भएका छन्। सन् २०२२ मा लीभन्दा अघि डेमोक्रेटिक पार्टीको नेतृत्व गर्ने सङ यङ–गिलको टाउकामा एक वृद्ध व्यक्तिले केही वस्तुले हमला गरेका थिए। सन् २००६ मा कन्जरभेटिभ पार्टीका तत्कालीन नेता पार्क ग्युन–हेमाथि एक र्यालीमा चक्कु प्रहार गरिएको थियो।