शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा हुन् : राष्ट्रपति पौडेल

हिमाल प्रेस १७ पुष २०८० १३:२६
12
SHARES
शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा हुन् : राष्ट्रपति पौडेल राष्ट्रपति पौडेललाई कार्यक्रममा स्वागत गर्दै काठमाडौँ महानगरका मेयर बालेन शाह।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताएका छन्।

काठमाडौँ महानगरपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताएका हुन्।

‘अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउने र विद्यार्थीमा अभिवृत्ति, सीप, ज्ञान, सामाजिक मूल्यको आर्जन र कार्य तत्परता विकास गर्ने खुला मैदान हुन्,’ उनले भने।

शिक्षण सिकाइ विद्यार्थीका लागि शरीरमा मुटुजस्तै र शिक्षण सिकाइमा खेलकुदको समाविष्टता स्वनिर्भरता र सशक्तीकरणको प्राण भएको उनको भनाई थियो। ‘खेलकुदकै माध्यमले युवा विद्यार्थीले आफ्नो आत्मविश्वास, सकारात्मक अनुभूति र अन्तरनिहीत प्रतिभाको विकास गर्न सक्छन्। खेलकुद क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तीन तहबाट यसमा यथेष्ठ प्रयत्नहरू होउन् भनेर म सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।

राष्ट्रपति पौडेलले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने भन्दै यसका लागि परिवार, समाज र परिवेश समावेश हुने, खुला गरेर सिक्ने तथा गरिखाने पुस्तकविहीन शिक्षा आवश्यक रहेको बताए।

युवा विद्यार्थीको खेलकुदमा संलग्नता समृद्धि, सफलता र समाज निर्माणको आधार भएको बताउँदै उनले युवा विद्यार्थी शिक्षामा निरन्तर अग्रसर हुँदा उनीहरूमा नयाँ विचार र नवप्रवर्तन क्षमता पनि विकास हुने बताए।

प्रकाशित: १७ पुष २०८० १३:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =