भक्तपुर- भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका ‘देवगण’ एक सातासम्म मध्यपुरथिमिका टोलटोलमा नृत्य प्रस्तुतसँगै स्थानीयको पूजा ग्रहण गरी बिदा भएको छ।
मध्यपुरथिमिमा यही पुस ११ गतेदेखि सुरु भएको नवदुर्गा नाच अन्तिम दिन सोमबार दिउँसो र राति मरुटोल र बालकुमारी प्रांगणमा बाराही नाच, सिम्हादुम्हा न्यालाकेगु नाच, महाकाली नाच, श्वेत भैरव न्यालाकेगु जात्रापछि आरतीसँगै प्रदर्शन गरिएको थियो।
त्यसपछि स्थानीयको पूजा ग्रहण गरी नवदुर्गा नाच भक्तपुर फर्किएको मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिए।
मध्यपुरथिमिको दिगुटोलबाट सुरु भएको नवदुर्गा नाच चपाचोमा प्यमा द्यो नाच, भुँलाखेलमा प्यमा द्यो नाच र खाँ प्याखँ नाच, नगदेश र बोडेमा, दथुटोलमा, दधिकोटको चित्रपुरमा, मध्यपुरथिमिको मरुटोल र वप्पा महादेव क्षेत्रमा मुँ वाहन लिकेगु नाच प्रदर्शन गरिएको थियो । अन्तिम दिन सोमबार दिउँसो र राति बालकुमारी क्षेत्रमा प्रदर्शन गरेपछि स्थानीयले भव्य पूजासहित देवगणलाई बिदा गरेका थिए।
नवदुर्गा जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान वनमालाका अनुसार नवदुर्गा नाचमा देवगणले गणेश, कुमार, सिंह कुमारी र दुम बाराहीको मुखुण्डोलगायत तान्त्रिक विधिअनुरूप नाच्ने गर्दछन्। नवदुर्गा नाचमा साक्षात् नवदुर्गा देवी प्रकट हुने जनविश्वास छ।
नवदुर्गा देवगणलाई नृत्य प्रदर्शनका लागि नगरपालिकाले बजेटको व्यवस्था गर्दै आएको छ। एक साता मध्यपुरथिमिको बालकुमारीस्थित नवदुर्गा द्यो छेँमा बसेर देवगणले नगरका विभिन्न स्थानमा नृत्य प्रस्तुत गरेको थियो।