
दुबई (रासस/एएफपी)- साउदी अरबले सन् २०२३ मा १७० जनालाई मृत्युदण्ड दिएको छ। यसमा नयाँ वर्षको पूर्वसन्ध्यामा चार जना समावेश थिए।
साउदी अरबमा सन् २०२२ मा १४७ दोषीलाई मृत्युदण्ड दिइएको थियो। मृत्युदण्डको व्यापक प्रयोगको निन्दा गर्ने मानवअधिकारकर्मीहरूले साउदी अरबको आलोचना गरेका छन्। सन् २०१९ मा उक्त मुलुकले १८७ जनालाई मृत्युदण्ड दिएर रेकर्ड बनाएको थियो।
आधिकारिक साउदी प्रेस एजेन्सीले आन्तरिक मन्त्रालयको विज्ञप्ति उद्धृत गर्दै आइतबार मृत्युदण्ड दिइएका चार जनालाई हत्याको अभियोगमा दोषी ठहर गरिएको बताएको छ। तीमध्ये दुई जनालाई उत्तरपश्चिमी सहर ताबुक, एक जनालाई राजधानी रियाद र अर्का एक जनालाई दक्षिणपश्चिमी जाजानमा मृत्युदण्ड दिइएको हो।
सन् २०२३ मा मृत्युदण्ड दिइएकामध्ये आतंकवादसँग सम्बन्धित अपराधको आरोपमा ३३ जना र देशद्रोहको आरोपमा दोषी ठहरिएका दुई सैनिक रहेका छन्। सबैभन्दा बढी डिसेम्बरमा ३८ जनालाई मृत्युदण्ड दिइएको थियो।