२०८१ का लागि १५ पात्रोलाई स्वीकृति, माघ १५ देखि बजारमा आउने

हिमाल प्रेस १२ माघ २०८० १३:०२ | Friday, January 26, 2024
२०८१ का लागि १५ पात्रोलाई स्वीकृति, माघ १५ देखि बजारमा आउने

काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८१ सालका लागि १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ। २०८१ सालका लागि समितिले १५ वटा पात्रोलाई स्वीकृति दिने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए। स्वीकृति दिएका पात्रो माघ १५ गतेदेखि बजारमा आउने समितिले जनाएको छ।

आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि, खप्तड तारानाथ र गौरीशङ्कर गरी १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्य सचिवसमेत रहेका कार्यकारी निर्देशक ढुंगेललले जानकारी दिए। समितिले २०७९ सालदेखि प्रकाशन सुरु गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ लाई पनि निरन्तरता दिइने जनाइएको छ।

२०७६ सालसम्म पुस अन्तिम साता नै पात्रो (पञ्चाङ्ग) प्रकाशन भइसक्थ्यो। २०७७ साल पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो। त्यसअघि मन्त्रालयको पत्रका आधारमा मात्र समिति गठन भएर पात्रोलाई स्वीकृति दिने गरिएको थियो। गठन आदेश अनुसार समितिले स्वीकृति दिएका पात्रोमात्र प्रयोग गर्न आम मानिसलाई सूचना प्रकाशन गरी आह्वान गरिएको छ।

पात्रोमा राखिने तिथि, बार, योग, नक्षत्र र करण गरी पाँच समूहलाई पञ्चाङ्ग भनिन्छ। पछिल्लो समय सामान्य मानिसले पनि बुझून् भनी घडीपलालाई बजेमा रुपान्तरण गरेर समेत पात्रोमा राखिने गरेको छ। पात्रोलाई अझै सुधार गर्नुपर्ने माग पनि उठ्ने गरेको छ जसअनुसार समितिले प्रत्येक वर्ष केही न केही सुधार गर्ने गरेको जनाइएको छ।

२०७९ सालदेखि नै समितिले भित्तेपात्रोलाई व्यवस्थित गर्ने भनिए पनि ठोस काम हुन सकेको छैन। विगतका दुई वर्ष स्वीकृति लिएरमात्र भित्तेपात्रो प्रकाशन गर्न समितिले सूचना प्रकाशन गरेको थियो। जसलाई यस वर्ष पनि निरन्तरता दिइएको छ तर स्वीकृति नलिएका भित्तेपात्रो प्रकाशन भए पनि समितिले कुनै कारबाही भने गरेको छैन। कारबाही गर्ने निर्देशिका नबनेकाले विगत वर्ष स्वीकृति नलिएका भित्तेपात्रोलाई केही गर्न नसकिएको उनले बताए।

प्रकाशित: १२ माघ २०८० १३:०२ | Friday, January 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast