 
                             
                                            काठमाडौँ- राष्ट्रिय योजना आयोगले १६औँ योजना र अति कम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारसँग छलफल गरेको छ।
आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको अध्यक्षतामा मंगलबार भएको छलफलमा संयुक्त राष्ट्रसंघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत विभिन्न देशका राजदूत तथा प्रतिनिधिले सुझाव दिए।
आयोग आगामी ५ वर्षका लागि तयार गरिरहेको १६औँ योजनाका लागि विभिन्न क्षेत्र तथा सरोकारवालासँग सुझाव लिइरहेको छ। सोही क्रममा बुधबार आयोगले अन्तर्राष्ट्रिय विकास साझेदार समूहसँग छलफल गरेको हो।
नेपालस्थित अन्तर्राष्ट्रिय विकास साझेदार समूहको नेतृत्व हाल संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि हाना सिंगर हाम्डी र नेपालका लागि फिनल्यान्डका राजदूतले संयुक्त रूपमा गरिरहेका छन्।
छलफलमा अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिका सन्दर्भमा पनि छलफल भएको थियो। नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि हाना सिंगर हाम्डीले सफल एलडिसी स्तरोन्नति पछि नेपाल विकासको अर्को अध्यायमा प्रवेश गर्ने बताइन्।
१६औँ योजनामा फल एलडिसी स्तरोन्नतिका सन्दर्भमा पनि सोच्नुपर्ने उनको सुझाव थियो। अन्य सहभागी विकास साझेदारहरूले आफ्नो कन्ट्री प्रोगामलाई १६औँ योजना र अति कम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नति रणनीतिसँग तादम्यता मिलाउनुपर्ने बताएका छन्।
आयोगका उपाध्यक्ष डा.श्रेष्ठले विकास साझेदारहरूबाट धेरै राम्रा सुझावहरू आएको बताए। नेपालको विकासका लागि विकास साझेदार समूहले गर्दै आएको सहयोगको लागि धन्यवाद दिँदै आएका सुझावहरू १६औँ योजना र स्मुथ ट्रान्जिसन स्ट्रेटिजी फर एलडिसीमा समावेश गर्ने प्रतिबद्धता जनाएका छन्।
आयोगले यसअघि बुधबार नै १६औँ योजनाको सन्दर्भमा राष्ट्रिय विकास परिषद्का नवनियुक्त सदस्यहरूसँग छलफल गरेको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 