 
                             
                                            सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा यातायात व्यवसायीबीच झडप हुँदा दुईजना घाइते भएका छन्।
भर्खरै सञ्चालनमा आएको ‘भिजिट कर्णाली यातायात’ प्रालिका कर्मचारी र संयुक्त यातायात व्यवसायी प्रालिका कर्मचारीबीच झडप हुँदा दुईजना घाइते भएका हुन्। यद्यपि, घाइतेको नाम खुलेको छैन।
शनिबार बिहान बुलबुले गेट नजिकै रहेको भिजिट कर्णालीको काउन्टरमा टिकट काटिरहेका बेला झडप भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
एक जनाको टाउको २२ वटा टाँका लगाइएको छ। घाइतेको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। सिटी बसपार्कबाटै टिकट सञ्चालन गर्नुपर्ने भन्दै संयुक्त यातायात व्यवसायी र भिजिट कर्णाली बीच केही समय देखि विवाद भएको थियो। तर भिजिट कर्णाली यातायातलाई भने वीरेद्रनगर नगपालिकाको चलानी नम्बर २८९० का अनुसार अर्को निर्णय नहुदाँसम्मलाई बसपार्क बाहिरैबाट सेवा सञ्चालन गर्ने अनुमति दिएको थियो।
सोही अनुसार भिजिट कर्णालीले बुलबुले गेट नजिकबाट सेवा सञ्चालन गरेको थियो। तर आज बिहान झडप भएको हो।
घटनास्थलमा ठूलो संख्यामा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता कृष्णबहादुर खड्काले जानकारी दिए। अहिले दुई समूहलाई एक ठाउँमा राखेर विवाद समाधानको प्रयास भैरहेको छ। राजमार्ग पनि सञ्चालनमा आएको छ ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 