सुदूरपश्चिम माओवादीमा विवाद, संसदीय दलको नेताबाट भट्टलाई नहटाउन निर्देशन

हिमाल प्रेस १४ माघ २०८० १२:१७ | Sunday, January 28, 2024
सुदूरपश्चिम माओवादीमा विवाद, संसदीय दलको नेताबाट भट्टलाई नहटाउन निर्देशन माओवादी नेता खगराज भट्ट। तस्बिर : भट्टको फेसबुक

काठमाडौँ- नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश संसदीय दलको नेता हटाउने निर्णय सच्याउन निर्देशन दिएको छ। संसदीय दलले शुक्रबार संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाउने निर्णय गरेको थियो। उक्त निर्णयले पार्टीभित्र विवाद उत्पन्न भएपछि प्रदेश कमिटीले तत्काल सच्याउन संसदीय दललाई निर्देशन दिएको हो।

धनगढीमा बसेको प्रदेश कमिटीको पदाधिकारी बैठकले पार्टीको विधिविपरीत र केन्द्रीय कार्यालयको निर्देशनसमेत अवज्ञा गरेर दलको नेता हटाएको भन्दै तत्काल उक्त निर्णय सच्याउन  निर्देशन दिने निर्णय गरेको छ। पदाधिकारी बैठकले गरेको निर्णयबारे सुदूरपश्चिम प्रदेशका सबै जिल्ला संयोजक र इन्चार्जलाई परिपत्र गरिएको छ।

प्रदेश अध्यक्ष र हरिराम चौधरी उत्सव र सचिव जनकबहादुर बुढाले हस्ताक्षर गरेर जारी गरिएको परिपत्रमा संसदीय दलको नेता खगराज भट्टको जानकारी विना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन गरेको र सरकार परिवर्तन गर्ने भन्ने कुरामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

संसदीय दलका उपनेता रावल पार्टी प्रदेश कमिटीका उपाध्यक्ष हुन्। उनकै अध्यक्षतामा बसेको बैठकले भट्टलाई दलको नेताबाट हटाएर मानबहादुर धामीलाई चयन गरेको थियो। खगराज भट्टलाई हटाएर धामीलाई दलको नेता बनाउँदा ६ जना प्रदेशसभा सदस्यहरूले निर्णय गरेका छन्। ११ जना प्रदेशसभा सदस्य रहको माओवादी सुदूरपश्चिममा एक जना सभामुख छन्। मानबहादुर धामी, अक्कल रावल, ओमविक्रम भाट सरल, गीतादेवी माल, लक्ष्मी विक र शिवसिंह ओलीले धामीलाई दलको नेता बनाउने निर्णयमा हस्ताक्षर गरेका छन्।

अहिले उक्त निर्णयले माओवादीभित्र तीव्र विवाद उत्पन्न भएको छ। बैठकमा खगराज भट्ट, झपट साउद, रमेश धामी र जानकीदेवी कुवँर भने उपस्थित भएका थिएनन्।

प्रकाशित: १४ माघ २०८० १२:१७ | Sunday, January 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast