सहमतिका आधारमा शान्ति प्रक्रियाको बाँकी काम टुंगिन्छ : प्रधानमन्त्री

हिमाल प्रेस ७ माघ २०८० १२:०९ | Sunday, January 21, 2024
सहमतिका आधारमा शान्ति प्रक्रियाको बाँकी काम टुंगिन्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमतिका आधारमा शान्ति प्रक्रियाको बाँकी काम पूरा हुने विश्वास व्यक्त गरेका छन्।

असंलग्न आन्दोलन (नाम)को शिखर सम्मेलनमा भाग लिई स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकलाई निष्कर्षमा पुर्‍याइने बताए।

प्रधानमन्त्री दाहालले सबै पक्षसँग छलफल भइरहेको र संघीय संसद्को आगामी बैठक सुरु हुने वित्तिकै सहमतिबाट शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाइने स्पष्ट पारे। ‘सत्य निरुपण विधेयकबारे सबैसँग छलफल गरी तयारी गरेका छौँ। संसद्को उपसमितिबाट टुंगो लागेर समितिमा गएको छ। सदन खुल्ने वित्तिकै फुल हाउसमा लगेर प्राथमिकताका साथ टुंगो लगाइन्छ’, उनले भने।

प्रधानमन्त्रीले दाहालले सहमतिबाट सो विधेयकलाई टुंगो लगाउन आफू प्रयासरत रहेको स्पष्ट पारे। उनले सरकारको काम कारबाहीलाई गति दिइएको भन्दै मन्त्रीलाईसमेत सोही अनुसार काम कारबाही गर्न स्पष्ट निर्देशन दिइएको बताए।

‘मन्त्रीलाई लक्ष्य दिएर काम गराउने, सरकारको कामलाई गति दिने, जिम्मेवारीलाई ठिक ढंगले सम्पादन नभए सोही अनुसार निर्णय गर्नेछौँ’, प्रधानमन्त्री दाहालले भने। क्षमता र अनुभवका हिसाबले नेपालको कर्मचारीतन्त्र कमजोर नभए पनि तत्परता, गम्भीरता, पहलकदमी लिने आँटमा केही कमी भएको उनको भनाइ छ।

आफूले मुख्य सचिव, सचिव र कर्मचारीतन्त्रसँग नियमित रुपमा छलफल गरिरहेको प्रधानमन्त्री दाहालले जानकारी दिए।

प्रकाशित: ७ माघ २०८० १२:०९ | Sunday, January 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast