वैदेशिक रोजगारीका लागि ६ महिनामा तीन लाख बढीले लिएन श्रम स्वीकृति

हिमाल प्रेस ६ माघ २०८० १५:५० | Saturday, January 20, 2024
वैदेशिक रोजगारीका लागि ६ महिनामा तीन लाख बढीले लिएन श्रम स्वीकृति त्रिभुवन विमानस्थल। फाइल तस्बिर

काठमाडौँ- वैदेशिक रोजगार विभागबाट चालु आर्थिक वर्षको पहिलो ६ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तीन लाख बढी पुगेको छ।

साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या तीन लाख ४३ हजार पुगेको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए।

उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० को यही अवधिमा वैदेशिक रोजगारीमा जानका लागि विभागबाट चार लाख १४ हजारले श्रम स्वीकृति लिएका थिए।

अघिल्लो वर्षको तुलनामा यस वर्ष श्रम स्वीकृति लिनेको संख्या ७१ हजारले कमी देखिएको उप्रेतीले बताए। उनको भनाइ छ, ‘पुस महिनामा ६५ हजार आठ सय १३ नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन्,यो संख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो।’

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको देखिए पनि साउन र भदौभन्दा मंसिर र पुसमा संख्या बढेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ।

पुसमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै यूएई जाने रहेका विभागले जनाएको छ। विभागको तथ्यांकअनुसार यूएईका लागि १६ हजारले श्रम स्वीकृति लिएका छन् भने साउदी अरब र कतार १४ हजार, मलेसिया आठ हजार, कुवेत तीन हजार र कोरिया एक हजार जना गएका छन्।

प्रकाशित: ६ माघ २०८० १५:५० | Saturday, January 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast