 
                             
                                            काठमाडौँ- वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यको गएराति निधन भएको छ। लामो समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय उनको सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा राति १२:३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि केही समय नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नक्सालमा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिइएको छ।
करिब पाँच सय नेपाली गीत तथा झन्डै एक सयभन्दा बढी नेपाल भाषाको गीतमा स्वर दिएका उनी पछिल्लो समय पक्षघातसम्बन्धी समस्या समेत झेलिरहेका थिए। गायक वैद्यको केही समयअघि मिर्गौलासमेत प्रत्यारोपण गरिएकाे थियाे।
२००३ सालमा नरदेवीमा जन्मिएका उनको पहिलो रचना ‘कति प्यासी छ जिन्दगी’ बोलको नेवारी र ‘सपना भुलाई सारा’ बोलको गीत निकै लोकप्रिय छन्। नातिकाजीको संगीतमा रहेको ‘सपना भुलाई सारा’ गीतका रचनाकार शिव अधिकारी हुन्।
राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गरेका साहित्यकार वैद्यका विभिन्न कृति समेत प्रकाशित छन्। उनका श्रीमती, दुई छोरी र एक छोरा छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 