मधेश सरकारबाट बाहिरियो जनमत पार्टी

हिमाल प्रेस ९ माघ २०८० १८:१३ | Tuesday, January 23, 2024
मधेश सरकारबाट बाहिरियो जनमत पार्टी प्रदेश प्रमुखलाई समर्थन फिर्ताको पत्र बुझाउँदै।

काठमाडौँ- चन्द्रकान्त राउत (सीके) नेतृत्वको जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ। जनमत पार्टीले सरकारबाट बाहिरिने निर्णय गर्दै मुख्यमन्त्री सरोज कुमार यादवलाई दिँदै आएको समर्थन समेत फिर्ता लिएको जनाएको छ।

जनमत पार्टीका सचिव बीपी साहले भने, ‘मधेश प्रदेश सरकारबाट हाम्रो पार्टी बाहिरिएको छ। पार्टीले सरकारमा भएका दुई मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।’  समर्थन फिर्ताको जानकारी प्रदेश प्रमुख हरि शंकर मिश्रलाई पनि गराइसकिएको छ।

मधेशमा जनमतबाट २ मन्त्री सरकारमा थिए। मधेश सरकारमा जनमत पार्टीको तर्फबाट महेशप्रसाद यादव शिक्षा तथा संस्कृतिमन्त्री र चन्दन सिंह श्रम तथा यातायातमन्त्री छन्।

जनमतका मधेश प्रदेशमा १३ सांसद रहेका छन्। जमनतले समर्थन फिर्ता लिँदा पनि तत्काललाई कुनै असर गर्दैन। कुल १०७ सदस्यीय मधेश प्रदेशमा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । मधेश प्रदेशमा सत्ता गठबन्धनसँग सुविधाजनक बहुमत छ।

मुख्यमन्त्री यादवलाई कांग्रेसका २२, जसपाका १८, माओवादीका ८, लोसपाका ९ र एकीकृत समाजवादीको ७ गरी ६४ सांसदको समर्थन छ। यता सरकार बाहिर रहेको एमालेका २४ सांसदको पनि यादवलाई समर्थन छ।

गत जेठ ३० गते दोस्रो पटक विश्वासको मत लिएका मुख्यमन्त्री यादवले १०३ जना सांसदको समर्थन पाएका थिए। त्यसमध्येबाट जनमतका १३ जनाको मात्र समर्थन फिर्ता भएको छ। ९० जना सांसदको समर्थन मुख्यमन्त्री यादवलाई अझै कायम छ।

सत्ताको नेतृत्व गरेको दल जसपासँग विवाद उत्पन्न भएपछि जनमत सरकारबाट बाहिरिएको जनाइएको छ। सप्तरीमा जनमतलाई बाइपास गरेर जसपाका अध्यक्ष उपेन्द्र यादवले कृषि विश्वविद्यालय शिलान्यास गरेपछि राउत असन्तुष्ट बनेका थिए। विश्वविद्यालय शिलान्यास कार्यक्रममा जनमतका नेता कार्यकर्ताले अवरोध गरेपछि प्रहरीसँग झडपसमेत भएको थियो। झडपमा जसपाका मन्त्री तथा सांसद घाइते भएका थिए।

प्रकाशित: ९ माघ २०८० १८:१३ | Tuesday, January 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast