बाजुराको कोल्टीबाट दुई जना गर्भवतीको हेलिकप्टरमार्फत् उद्धार

हिमाल प्रेस ६ माघ २०८० १२:२९ | Saturday, January 20, 2024
बाजुराको कोल्टीबाट दुई जना गर्भवतीको हेलिकप्टरमार्फत् उद्धार फाइल तस्बिर।

काठमाडौँ- बाजुराको पूर्वी उत्तरी भेग बुढीनन्दा नगरपालिका–२ को कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट दुई जना गर्भवतीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ।

बुढीनन्दा नगरपालिका–१ जमसालकी २५ वर्षीया सम्झना खत्री र पिपलडालीकी २९ वर्षीया सरस्वती विष्टलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको डा. रञ्जित शाहले बताए।

खत्री र विष्टलाई तत्काल अप्रेसन गरी बच्चा झिक्नुपर्ने अवस्था रहेको हुँदा हिजो सुर्खेत पठाइएको डा। शाहको भनाइ छ। उनका अनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जिल्ला अस्पताल बाजुराबाट अक्सिजन भरेर ल्याउने गरेको भए पनि अस्पतालमा अक्सिजन प्लान्ट बिग्रेपछि गर्भवतीलाई रिफर गर्नुपरेको हो।

गर्भवतीको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए। दुर्गम तथा विकट जिल्लाका गर्भवती र सुत्केरीको उद्धारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालनमा छ।

आर्थिक वर्ष २०७५/०७६ देखि शुरु भएको यो कार्यक्रम गर्भवती र नवजात शिशु सुरक्षाका लागि केन्द्रित छ। यसको मुख्य उदेश्य मातृ शिशु मृत्युदर कम गर्ने रहेको छ।

तोकिएका क्षेत्रका गर्भवती तथा सुत्केरी जोखिममा परे नजिकैका स्वास्थ्यकर्मीमार्फत् प्रमुख जिल्ला अधिकारी वा स्वास्थ्यका कार्यालय प्रमुखसँग सम्पर्क गरेपछि उनीहरूले हवाई उद्धार कार्यक्रमका व्यक्तिसँग सम्पर्क गरी सहजीकरण गर्छन्।

त्यसपछि सेनासँग समन्वय गरी हेलिकप्टर पठाएर सम्बन्धित बिरामीलाई नजिकै रहेको सुविधासम्पन्न अस्पतालमा पठाउने गरिन्छ। नजिकको अस्पतालमा पनि उपचार सम्भव नभएमा काठमाण्डौ ल्याउनुपरे पनि सम्पूर्ण खर्च सरकारले नै व्यहोर्छ। रासस

प्रकाशित: ६ माघ २०८० १२:२९ | Saturday, January 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast