प्रिमियम मूल्यमा एक करोड कित्ता सेयर निष्कासन गर्दै बुटवल पावर कम्पनी

हिमाल प्रेस २ माघ २०८० ११:५४ | Tuesday, January 16, 2024
प्रिमियम मूल्यमा एक करोड कित्ता सेयर निष्कासन गर्दै बुटवल पावर कम्पनी

काठमाडौँ- बुटवल पावर कम्पनी लिमिटेडले आइतबार ३१औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। साधारणसभाले सेयरधनीहरूलाई आव २०७९/८० को मुनाफाबाट चुक्त पुँजीको पाँच प्रतिशत नगद लाभांश वितरण गर्नेलगायत सञ्चालक समितिबाट पेस भएका सबै प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ।

सभाले कम्पनीको प्रतिसेयर एक सय रुपैयाँ दरका एक करोड कित्ता सेयर प्रचलित ऐननियमबमोजिम प्रिमियम मूल्यमा थप सार्वजनिक निष्कासन गर्ने र सो प्रयोजनका लागि कम्पनीको हालको जारी पुँजी तीन अर्ब ४० करोड ९० लाख ६४ हजार छ सय रुपैयाँबाट वृद्धि गरी चार अर्ब ४० करोड ९० लाख ६४ हजार ६० रुपैयाँ पुर्‍याउने विशेष प्रस्तावसमेत पारित गरेको छ।

कम्पनीले ९.४ मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक जलविद्युत् केन्द्र नियमित रूपमा सञ्चालन गरिरहेको छ। साथै सहायक तथा सम्बद्ध कम्पनीमार्फत सञ्चालित चार मेगावाटको खुदी जलविद्युत केन्द्र र ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत केन्द्रको सञ्चालन भइरहेको छ।

कम्पनीले विदेशी तीन चिनियाँ लगानी कर्ताहरूसँगको संयुक्त लगानीमा मर्स्याङ्दी नदीमा निर्माणको चरणमा रहेका आयोजनाहरूमा १३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजना, १३९.२ मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना र ३२७ मेगावाटको माथिल्लो मर्स्याङ्दी दोस्रो जलविद्युत् आयोजना क्यासकेड अवधारणामा (कुल जम्मा ६०१ मेगावाट) अगाडि बढाउने क्रममा छन्।

मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको कार्य सम्पन्न गरी यस आयोजनको निर्माण कार्य चालु आवको चैतभित्रै सुरु गर्ने योजना छ। त्यस्तै ७.९ मेगावाटको चिनोखोला जलविद्युत् आयोजना पनि निर्माण तयारीको चरणमा छ। १७३.४७ मेगावाट क्षमताको अर्ध जलाशययुक्त मुगु कर्णाली जलविद्युत् आयोजना अध्ययनकै क्रममा छ।

प्रकाशित: २ माघ २०८० ११:५४ | Tuesday, January 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast