![नातावाद र राजनीतिबाट मुक्त हुन सकेन सीटीईभीटी : सदस्य सचिव महेश भट्टराई [भिडिओसहित]](https://himalpress.com/wp-content/uploads/2024/01/Mahesh-Bhattarai.jpg) 
                             
                                            काठमाडौँ– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सदस्य सचिव महेश भट्टराईले सीटीईभीटीप्रति आकर्षण हुन सबैभन्दा पहिले श्रमबजारप्रति आकर्षण र विश्वास हुनुपर्ने बताएका छन्। हिमाल प्रेसको साप्ताहिक कार्यक्रम ‘एड्टक’ मा कुराकानी गर्दै भट्टराईले त्यसका लागि श्रमबजार दिगो, भरपर्दो, टिकाउ हुनुपर्ने बताएका हुन्।
उनले भने,‘सीटीईभीटीप्रति आकर्षण हुन सबैभन्दा पहिले श्रमबजारप्रति हाम्रो आकर्षण हुनुपर्छ। विश्वास हुनुपर्छ। श्रमबजार दिगो, भरपर्दो, टिकाउ हुनुपर्छ।’
उनले सीटीईभीटीमा नातावाद बढी भएको स्वीकार गर्दै नातामा नभई नीतिमा विश्वास गरे नातावाद अन्त्य हुने बताए। ‘राजनीति मात्र जिम्मेवार छैन। हाम्रो संस्कार, संस्कृति पनि जिम्मेवार छ। सोही कारण हामी नियममा होइन नातामा विश्वास गर्छौँ, नियममा होइन नातामा विश्वास गर्छौँ’, भट्टराईले भने।
सदस्य सचिव भट्टराईले सीटीईभीटी राजनीतिक प्रभावबाट मुक्त हुन नसकेको पनि स्वीकार गरे। उनले भने,‘हामी राजनीतिक प्रभावबाट मुक्त छौँ जस्तो मलाई लाग्दैन। सीटीईभीटीमा राजनीतिको केही न केही प्रभाव परेको छ। शासन पनि निरन्तर हुन्छ। प्रशासन पनि निरन्तर हुन्छ।’
नेतृत्व परिवर्तन भए पनि प्रशासनको प्रणालीमा त्यसका आधारभूत तौरतरिका परिवर्तन नभएको उनले बताए। साथै उनले शासनको संरचनागत चिज भए पनि आधारभूत कुरा परिवर्तन हुँदैन भन्ने सर्वव्यापी मान्यता रहेको बताए।
‘हामीले त्यसलाई आत्मसाथ गर्न सकेनौं कि भन्ने मलाई लाग्छ। त्यसैले हामीले शासन र प्रशासनको निरन्तरता हुन्छ भन्ने कुराको आत्मसात् गर्न सकेनौँ। सक्षम नेतृत्व भयो भने त्यसले काम गर्छ भन्ने बुझेनौँ। शासन र प्रशासन निरन्तर हुन्छ हामीले त्यसलाई परिवर्तन गर्न सक्छौँ। राजनीति छ, त्यसलाई कम गर्न सकिन्छ’, उनले भने।
भट्टराईले कानुनी संरचनाको पनि अभाव रहेको बताए। ‘पठनपाठनमा उद्योग व्यवसायहरूलाई संलग्न गर्नेगरी कानुनी संचनाको व्यवस्थापन हुनुपर्छ,’ उनले भने, ‘अहिलेसम्म सीटीईभीटी अथवा शिक्षा मन्त्रालयबाट सञ्चालित शैक्षिक निकायमा उद्योग व्यवसायको संलग्नता हुनेगरी कानुनी संरचनाको सर्वथा अभाव देखिन्छ।’
उनले आफ्नो कार्यकालमा गर्न सकिने केही कामहरू पनि सुनाए। भट्टराईले भने, ‘सीटीईभीटीप्रति सबैको विश्वसा सिर्जना गर्ने, सीटीईभीटीले अहिले जे काम गरिरहेको छ त्यसलाई गुणस्तरीय बनाउन प्रयास गर्ने, हाम्रो जनशक्तिलाई प्रतिस्पर्धी र श्रमबजारमा बिक्ने बनाउनलाई आफ्नो आन्तरिक जनशक्ति तयार गर्ने र त्यसअनुसार परिचालन गर्ने मेरा मुख्य लक्ष्य हुन्।’
भिडिओ

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 