नबिलले ल्यायो ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ विशेषतासहित

हिमाल प्रेस ११ माघ २०८० १६:५२ | Thursday, January 25, 2024
नबिलले ल्यायो ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ विशेषतासहित

काठमाडौँ– नबिल बैंक लिमिटेडले विदेशबाट फर्किएका नेपाली युवा तथा विदेशमा रहेका नेपाली युवाको परिवारलाई लक्षित गरेर नयाँ कर्जा योजना अघि सारेको छ।

देशले युवा जनशक्तिको अपेक्षित लाभ उठाउन नसकेको, वैदेशिक रोजगारीमा जाने क्रम निरन्तर बढेको, विदेशबाट फर्केका युवाले पर्याप्त पुँजी अभावमा आफ्नो सिपको उपयोग गरी उद्यमशीलता विकास गर्न नसकेको जस्ता समस्या देखिएको सन्दर्भमा ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सुरु गरिएको बैंकले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीद्वारा ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सार्वजनिक गरिएको हो। कार्यक्रममा सम्बोधन गर्दै मन्त्री भण्डारीले बैंकको यस्तो योजनाले बिदेसिएको दक्ष र बौद्धिक जनशक्तिलाई नेपालमा फर्काउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे। ‘सरकारले बिदेसिएका नेपालीलाई नेपाल फर्किएर व्यवसाय सुरु गर्न प्रोत्साहित गरिरहेको अवस्थामा नबिल बैंकले ल्याएको यो योजनाले थप टेवा पु¥याउने मेरो विश्वास छ’, मन्त्री भण्डारीले भने।

उनले वैदेशिक रोजगारीमा रहेका र फर्किएका युवालाई स्वदेशमा नै उद्यमशीलता विकास गर्ने सरकारको अभियानलाई सहयोग पुग्ने गरी बैंकले कार्यक्रम अघि बढाएको भन्दै आभार प्रकट गरे।

श्रम मन्त्रालयका सचिव भण्डारीले मिडियामा बिदेसिएका नेपालीहरुको मात्र समाचार बन्ने र फर्केका नेपालीहरुको डाटामा कुरा नहुने बताए। उनले नबिलले फर्केका नेपालीहरुको सिपको सम्मानमा उद्यम गर्ने वातावरण बनाउन ल्याएको यो कार्यक्रम साँच्चै आवश्यक रहेको बताए।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले वातावरणीय, सामाजिक र आर्थिक दिगोपनमा केन्द्रित गरेर बैंकले आफ्नो यात्रा अघि बढाएको बताए। ‘यो कर्जा योजना बैंकले व्यवसायिक रुपमा मात्र नभई स्थानीय अर्थतन्त्र र साना व्यवसायहरूलाई सहयोग तथा समर्थन गर्न डिजाइन गरिएको एक अभियानका रुपमा लिएका छौं,’ अध्यक्ष पौड्यालले भने।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले यस्ता योजनामार्फत बैंकले दिगो यात्रालाई जोड दिएको बताए। बैंकले सार्वजनिक गरेको यस्तो स्किम दिगो बैंकिङ विकासको लागि कोशेढुंगा साबित हुने उनले उनको भनाइ छ।

यस्ता छन् विशेषता

बैंकका अनुसार यो कर्जा विदेशमा सिकेको सिपलाई प्रयोग गर्दै नेपालमै केही गरौँ भन्ने सोच बनाइरहेका नेपालीलाई केन्द्रित गरिएको हो। कार्यक्रमअन्तर्गत उद्योग तथा व्यावसायिक योजनाको प्रकृतिका आधारमा अधिकतम १० करोडसम्म कर्जा उपलब्ध गराउनेछ।

यस्तो कर्जा न्यून ब्याजमा अधिकतम १० वर्ष अवधिसम्मका लागि उपलब्ध गराइनेछ। कर्जामा बैंकले आधार दरमा १.५ प्रतिशत प्रिमियम थप गरी उपलब्ध गराउने उल्लेख गरिएको छ।

बैंकको एसएमई, एमएफ तथा सस्टेनेवल बैंकिङ प्रमुख अमित श्रेष्ठले यस नयाँ योजनाको विषयमा आफ्नो प्रस्तुति दिँदै आवश्यक कागजपत्र पूरा भएको तीनदेखि पाँच दिनभित्रमा कर्जा प्रवाह भइसक्ने जानकारी गराए।

यसले रेमिट्यान्सलाई सही ठाउँमा उपयोग गर्नसमेत प्रोत्साहन पुग्ने विश्वास बैंकले राखेको छ। यो कर्जा योजनाले वैदेशिक रोजगारमा रहेका नेपालीका परिवार तथा आफन्तलाई समेत सक्रिय बनाउने अपेक्षा राखिएको छ।

प्रकाशित: ११ माघ २०८० १६:५२ | Thursday, January 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast