डब्ल्यूटीओको व्यापार तथा विकास समिति अध्यक्षमा राजदूत सुवेदी निर्वाचित

हिमाल प्रेस २८ पुष २०८० २०:०४ | Saturday, January 13, 2024
डब्ल्यूटीओको व्यापार तथा विकास समिति अध्यक्षमा राजदूत सुवेदी निर्वाचित

काठमाडौँ-   विश्व व्यापार संगठनको शुक्रबारको परिषद् बैठकले नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीलाई संगठनको ‘व्यापार तथा विकास’ समितिको अध्यक्षमा एक वर्षका लागि निर्विरोध निर्वाचित गरेको छ। परिषद्का अध्यक्ष अथालिहा लेसिबा मोलोकोमे गरेको प्रस्तावमा विश्व व्यापार संगठनको सदस्य राष्ट्रहरूले समर्थन गरेका थिए।

नेपाल सन् २००४ मा विश्व व्यापार संगठनको सदस्य भएपछि  उक्त संगठनको अध्यक्षमा नेपाल पहिलोपटक निर्वाचित भएको हो। नेपाल विश्व व्यापार संगठनको सदस्य भएको २० औँ वर्ष मनाइरहँदा प्राप्त यो अवसर नेपालको लागि गौरको विषय हो।

नेपालले उक्त पदको जिम्मेवारी यस वर्षको दोस्रो नियमित बैठकबाट आरम्भ गरी सन् २०२५ पहिलो नियमित बैठकसम्म सम्हाल्ने जेनेभास्थित नेपालको नियोगले जनाएको छ।

विश्व व्यापार संगठन मूलतः अन्तर्राष्ट्रिय व्यापारको नियम बनाउने सर्वोच्च निकाय भएता पनि पछिल्ला छलफल तथा बहसहरू विकास केन्द्रित हुने गरेका छन्। नेपाललाई विश्वव्यापार संगठनको माराकेस सम्झौताको क्षेत्राधिकार भित्र रही व्यापार र विकाससँग सम्बन्धित विषयमा सदस्य राष्ट्रहरूलाई संयोजन गर्ने र साझा सहमति गराउने अवसर मिल्ने छ।

समितिको अध्यक्षमा राजदूत सुवेदीको  नियुक्तिले नेपाललाई विश्व व्यापार संगठनका सदस्यहरूबीच विचारविमर्श र सहजीकरणका साथै विकास, व्यापार र लगानीका विषयमा विकास सरोकारवालाहरूसँगको संवादमा संलग्न हुन अवसर मिल्नेछ भने यो भूमिका दोहा कार्ययोजनाअनुसार अतिकम विकसित मुलुकका लागि व्यापारका लागि सहायताको परिचालन र मूलप्रवाहीकरण गर्ने सन्दर्भमा नेपालका निम्ति यो उपलब्धि हो।

सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकहरूको समूहबाट स्तरोन्नतिको क्रममा रहेकाले नेपालको भूमिका अझ सान्दर्भिक हुने जेनेभास्थित नेपाली नियोगले जनाएको छ।

प्रकाशित: २८ पुष २०८० २०:०४ | Saturday, January 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast