 
                             
                                            पोखरा- पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा साविक विजेता एपीएफ क्लब र चन्द्रागिरी न्यु डायमण्ड उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
पोखरा रंगशालामा बिहीबार सेमिफाइनलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो। गएका दुई संस्करणमा लगातार च्याम्पियन एपीएफले यसपालि पनि उपाधि जिते ह्याट्रिक पूरा गर्नेछ। एपीएफले जारी स्पर्धामा कुनै पनि खेल हारेको छैन।
पहिलो सेमिफाइनलमा एपीएफले पहिलो दुई सेट १९–२५ र २०–२५ ले विभागीय आर्मीलाई सुम्पेकोमा पछिल्ला सेट आफ्नो पक्षमा पारेको हो।
जसमा २५–१३, २५–१६ र १५– १३ ले खेलमा फर्किंदैं फाइनलमा पुगेको हो। पाँचौ सेट जारी रहँदा एपीएफ २–७ ले पछि थियो। तर आर्मी अग्रता जोगाउन सकेन। खेलमा एपीएफकी सरस्वती चौधरी टाइगर अफ दि म्याच घोषित भएकी छन्।
यस्तै, दोस्रो सेमिफाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै चन्द्रागिरी नगरपालिका न्यु डायमण्डले एपीएफसँग भेट सुनिश्चित गरेको हो। डायण्डमले २५–१९, २५–१८ र २५–१८ सेटमा हराउँदा सलिना बुढामगर टाइगर अफ दि म्याच बनिन्।
शुक्रबार डर्बी टिम नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब तेस्रो स्थानका लागि आमनेसामने हुने छन्। विजेताले ५ लाख ५५ हजार र उपविजेता टिमले २ लाख ५५ हजार तथा तेस्रोले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 