 
                             
                                            चितवन- चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन्। झण्डै दुई महिनादेखि चार्जिङ स्टेसन बिग्रेको हो।
सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा ‘चार्ज’ गर्ने ‘नोजल’ फुट्नुका साथै स्टेसनका दुई डिसी चार्जर बिग्रेको जनाइएको छ। हाल एउटा एसी चार्जर मात्र सञ्चालनमा छ।
एसी चार्जरबाट सवारीसाधन चार्ज गर्दा ढिलो हुन्छ। गाडी चार्ज गर्न आएका गोरखाका ध्रुव गुरुङले चार्जिङ स्टेसन बिग्रँदा हैरानी बेहोर्नुपरेको गुनासो गरे। उनले एसी चार्जरबाट चार्ज गर्दा घण्टौँ कुर्नुपर्ने समस्या रहेको बताए।
उनले सरकारले विद्युतीय सवारीसाधन प्रयोगमा जोड दिए पनि थप चार्जिङ स्टेसन निर्माण र बिग्रेका स्टेसनको समयमै निर्माण गर्ने कुरामा ध्यान नदिएको बताए। चार्जिङ स्टेसन निर्माणको जिम्मा पाएको दिगोका आयोजना व्यवस्थापक शिव अधिकारीले चार्जिङ गर्ने नोजल फुटेका कारण समस्या भएको बताए।
उनले चार्जिङ स्टेसनमा फेर्नुपर्ने सामान मगाइसकेको र एक दुई दिनमै आउने बताए। ‘भन्सारमा सामान आएको हप्तादिन भयो’,उनले भने,सम्भवत आज भन्सार छुटेर सामान काठमाडौँ आइपुग्छ।’
आयोजना व्यवस्थापक अधिकारीका अनुसार नेपाल विद्युत् प्राधिकरणमार्फत देशभर ६२ चार्जिङ स्टेसन निर्माण गरिएको छ। केही स्टेसनमा समस्या देखिएको छ। देशभर चार्जिङ स्टेसनका १५३ मध्ये २० मा समस्या देखिएको बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 