गैँडा तस्करी अभियोगका चार फरार अभियुक्त पक्राउ

हिमाल प्रेस २६ पुष २०८० १५:२७ | Thursday, January 11, 2024
गैँडा तस्करी अभियोगका चार फरार अभियुक्त पक्राउ सांकेतिक तस्बिर।

चितवन– गैँडाको खाग तस्करी गरी फरार रहेका चार जनालाई निकुञ्जले पक्राउ गरेको छ। चितवन राष्ट्रिय निकुञ्जले विभिन्न समयमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गणेश कुमाल, चक्का जेठा, सोनामसिं वाइबा र मुक्तलाल पुनमगर रहेका छन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार २०७७ कात्तिक २० गते भुसारघाट पारिपट्टि आइल्याण्ड क्षेत्रमा एकसिङ्गे गैँडालाई गोली हानी मारेर खाग तस्करी गरेको आरोपमा यही पुस २१ गते कुमाललाई भरतपुर महानगरपालिका–२४ मचानबाट पक्राउ गरेको हो। सो मुद्दामा उनीसहित २४ जना प्रतिवादी रहेका थिए।

यस्तै २०६३ साउन २८ गते सिमलगैहरी क्षेत्रमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा वाइबालाई पक्राउ गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिए। उनका अनुसार सो मुद्दामा १४ जना प्रतिवादीमध्ये वाइबालाई यही पुस २४ गते इच्छाकामना गाउँपालिका–७ भालुमाराबाट पक्राउ गरिएको हो। उनी १७ वर्षदेखि फरार थिए।

यस्तै निकुञ्ज र निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको टोलीले २०६० माघ २० गते नन्दनताल क्षेत्रमा गैँडा मारी खाग तस्करी गरेको आरोपमा १३ वर्षदेखि फरार रहेका जेठा र पुनमगरलाई पक्राउ गरिएको हो।

दुवैजनालाई यही पुस २४ गते राप्ती नगरपालिका–११ सिमलटाडीबाट पक्राउ गरिएको हो। उनीहरूलाई जिल्ला अदालत चितवनले १५ वर्ष कैद तथा एक लाख जरिवाना तोकेको थियो। सो मुद्दामा चार जना प्रतिवादी रहेका थिए। पक्राउ परेका उनीहरूलाई जिल्ला अदालतलाई बुझाइएको सूचना अधिकारी तिवारीले बताए।

प्रकाशित: २६ पुष २०८० १५:२७ | Thursday, January 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast