आहा रारा गोल्डकपको प्रत्यक्ष प्रसारण डिसहोमका दुई च्यानलबाट

हिमाल प्रेस ७ माघ २०८० १७:४० | Sunday, January 21, 2024
आहा रारा गोल्डकपको प्रत्यक्ष प्रसारण डिसहोमका दुई च्यानलबाट

काठमाडौँ– पोखरामा मंगलबारदेखि हुने आहा रारा गोल्डकपको २३औँ संस्करणका खेलहरुको डिसहोमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ। प्रतियोगिताको डिसहोमको एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने भएको हो।

डिसहोम नेटवर्क र आहाको आयोजक सहारा क्लबबीच गोल्डकपको बोर्ड कास्टिङ पार्टनरका रूपमा रहनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिस होमको एप डिस होम गोमा पनि हुनेछ। एक्सन स्पोर्टसले यसअघि पनि आहा गोल्डकपको प्रत्यक्ष प्रसारण गरेको थियो।

प्रतियोगितामा नौवटा ‘ए’ डिभिजन क्लब तथा भुटानको पारोसहित १२ टोलीले सहभागिता जनाउँदैछन्। उद्घाटन खेल आयोजक सहारा र थ्री स्टार क्लब आमनेसामने हुनेछन्।

प्रतियोगिताको दोस्रो दिन त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच स्पर्धा हुनेछ। दुई ‘ए’ डिभिजन टोली मछिन्द्र क्लब र जाउलाखेल युथ क्लब माघ ११ गते र दुई विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको भेट माघ १२ मा हुनेछ।

साविक विजेता संकटा क्लब, भुटानको पारो फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले भने सिधै क्वार्टरफाइनलमा प्रवेश पाएका छन्। प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ।

विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ रुपैयाँ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रिक्वार्टर खेल्ने टोलीले २० हजार, क्वार्टरफाइनल खेल्ने टोलीले ३० हजार र सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ। पोखरा नगरपालिका प्रतियोगिताको संरक्षक रहेको छ।

राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले प्रायोजन गरेका छन्। यस्तै म्यान अफ द म्याच ट्रफी, नगद र मेडलहरु सहारा युकेद्वारा सौजन्य हुने आयोजकको भनाइ छ। प्रतियोगिता सञ्चालन गरेर बचत हुन आउने रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीका लागि खर्च गरिने बताइएको छ।

प्रकाशित: ७ माघ २०८० १७:४० | Sunday, January 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast