आगामी बजेट कनिका छरे जस्तो हुँदैन : प्रधानमन्त्री दाहाल

हिमाल प्रेस ९ माघ २०८० १६:५४ | Tuesday, January 23, 2024
आगामी बजेट कनिका छरे जस्तो हुँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने बताएका छन्। उनले यसपटकको बजेट कनिका छरेजस्तो नभई अधुरा आयोजनाहरूको निर्माण कार्य सम्पन्न गर्न जोड दिइने बताएका हुन्।

मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीसम्बन्धी बैठकमा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले पूराना योजनाहरू अलपत्र पर्ने तर नयाँ–नयाँ योजना थपिँदै जाँदा एकातिर काम नहुने र अर्काेतर्फ ठूलो स्रोत खेर जाने भएकाले यसतर्फ गम्भीर हुन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराए।

‘विकास भनेको योजनाबद्ध हुन्छ, हुनुपर्छ। बिनासम्भाव्यता अध्ययन, बिनाउपयोगिता जहाँ पनि विकास माग्ने तर त्यसको अपनत्व पनि नलिने, स्रोत पनि नपुग्ने र विनियोजित बजेट पनि फ्रिज जाने बिडम्वना छ। त्यसबाट हामी माथि उठ्नैपर्छ,’ प्रधानमन्त्रीले भने, ‘यसपटकको बजेट कनिका छरेजस्तो हुँदैन। विगतमा छनोट भएर अधुरा रहेका योजना सम्पन्न गर्न सम्पूर्ण तागत लगाउनुपर्छ।’

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक रहे पनि राजस्व संकलनमा अपेक्षित सफलता प्राप्त भइनसकेकाले मितव्ययी भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

यस्तै, मुख्यसचिव डा. बैकुण्ठ अर्यालले यस पटक नीति तथा कार्यक्रम र बजेट निर्माणको कार्यतालिका परिमार्जन गरिएकाले पर्याप्त अध्ययन र छलफलका आधारमा अन्तिम निष्कर्षमा पुग्न सजिलो हुने बताए।

प्रकाशित: ९ माघ २०८० १६:५४ | Tuesday, January 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast